कलाकार परिचय पत्रको सेवा-सुविधा तोक्न माग



नेपाल चलचित्र कलाकार संघले सरकारको तर्फबाट कलाकर्मीलाई प्रदान गरिँदै आएको विशिष्ट परिचय पत्रको सेवा सुविधा तोक्न माग गरेको छ।

संघका अध्यक्ष मोहन निरौला नेतृत्वको एक टोलीले हालै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई भेटेर उक्त माग गरेका हुन्। अध्यक्ष निरौलाले ७० वर्ष नाघेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधि उपचार सुविधासमेत दिनुपर्ने मागसमेत अघि सारे।

हामीलाई राज्यले परिचयपत्र त दियो, त्यसको सेवा सुविधा पनि आवश्यक छ। ७० वर्ष नाघेका कलाकारलाई राज्यले मासिक भत्ता र औषधि उपचार पनि दिनुपर्छ। विदेशबाट कलाकारका लागि आउने विभिन्न अवसरका कोटामा समेत कलाकार संघको सिफारिस अनिवार्य गरिनुपर्छ, निरौलाको भनाइ छ।

संघले विभिन्न माग समेटिएको ज्ञापनपत्रसमेत बोर्डलाई बुझाएको छ। कलाकारहरुलाई चलचित्रमा अभिनय गराउँदा करार गरेर काम गराउनुपर्ने, कलाकार संघको परिचयपत्र भएकालाई अभिनय गराउँदा निर्माण पक्ष र कलाकार दुवैलाई सहज हुनेलगायतका विषय ज्ञापनपत्रमा उल्लेख छ। भेटमा बोर्डका अध्यक्ष केसीले कलाकारको मागप्रति आफू सकारात्मक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्