गणतन्त्र जनइच्छाले आएको थियो त ?



एक दशक लामो युद्धको त्रास खेपेर, सत्र हजारभन्दा धेरैको जीवन समाप्त भएर, हजारौँ मानिस अपाङ्ग वा घाइते भएर पीडादायी जीवन बाँच्न विवश भएको एउटा कालखण्डको बीचमा आम जनताको वास्तविक चाहना के हो भन्ने नबुझी घोषणा गरिएको गणतन्त्र जनताको इच्छाले आएको होइन । आम जनतालाई गुमराहमा राखेर देशमा गणतन्त्र आएपछि धनी–गरिब, फरक वा भिन्नता हुनेछैन, सबै बराबर हुनेछौँ भनेर नेतृत्वले ढाँटेको थियो । हुन त नेतृत्व पनि स्वयं नै अलमलमा परेको थियो । यदि आफ्नै दिमागी चालको भरमा छेडिएको र सही योजनाका साथ थालिएको हुन्थ्यो वा दुर्गम स्थानको गरिबीले सताएको जनताको मायाको धरातलमा टेकेर थालिएको जनयुद्ध हुन्थ्यो भने यो अवस्था आउने थिएन । गणतन्त्र लागू गर्दै गर्दा आम जनतालाई सोधेर मात्र वा गणतन्त्र स्थापना भएपछिका दिनमा यी–यी काम हुनेछन् भनेर यथार्थ कुरा बताएर आम जनताको स्वीकार्य हुन्थ्यो भने मात्रै गणतन्त्र लागू गरिनुपथ्र्यो । यहाँ त गणतन्त्र लागू गर्दा ताका अलि पढेलेखेका र पहुँच भएका जति माथ्लो स्तरमा उचालिएर पुगे । तल्लो स्तरकालाई स्थानको अभाव भएपछि नेतृत्वको खुरापाती दिमागमा गणतन्त्रको नाटक मञ्चन गरेर तल्लादेखि माथ्लासम्मका लडाकालाई जागिर खुवाउन सकिन्छ भन्ने सोचाइ फुर्न पुगेको थियो । सोही खुरापाती दिमागको भरमा फोस्रो वा उधारो गणतन्त्र लागू हुन पुग्यो । गणतन्त्र लागू भएपछिका दिनमा आम जनताले धेरै कष्ट सहेरै भए पनि अबका दिनमा आफ्ना पक्षमा केही काम भइजाला कि भनेर आशावादी बने । तर जनताका पक्षमा अपेक्षितरुपमा काम हुन सकेनन् । उता नेतृत्वले गणतन्त्र लागू गरेसँगै आ–आफ्ना व्यक्तिगत आयस्ताका बाटाहरु बलिया बनाउँदै थिए । उनीहरुका हरेक बैठक आ–आफ्ना बाटा कसरी बलिया र सुचारु बनाउने भन्ने चिन्तनमा खुरापाती दिमाग घसेटिरहन्थे । गणतन्त्र आयो भनिएपछिका केही वर्षसम्म पनि आम जनताले निकै धैर्यताका साथ केही भइजान्छ कि भनेर आशा गरे । तर विडम्बना ! टाठाबाठा र पहुँचवालाले अथाह सम्पत्ति कमाए । भोकले खान नपाएका जनताले सहज खानाको व्यवस्था कतै पनि गरेको पाएनन् ।

लामो समयसम्म प्रतीक्षा गरेर निकै धैर्यताका साथ कुर्दा पनि केही कुरा हात नलागेपछि आम जनताले बल्ल थाहा पाउँदै छन् कि उनीहरुले ल्याएको गणतन्त्र झुटो गणतन्त्र हो । झुटो गणतन्त्रले हामीलाई कुनै उन्नति र प्रगतिको बाटोमा लैजान सक्ने रहेनछ भन्ने कुरा अबका जनताले केही मात्रामा बुझ्न थालेका छन् । जनताको यो बुझाइलाई अझ राम्ररी बुझाएर आम परिवर्तनका बाटासम्म पुग्नको लागि आज आम जनता जुर्मुराउँदै छन् । हालका शासकलाई शासन चलाउनको लागि निकै अप्ठ्यारो अवस्था सिर्जना हुँदै गएको छ । शासकहरु दोधारे मानसिकताको सिकार बन्दै छन् । सत्ता सुम्पेर आफू वैरागी बन्न पनि सुहाएन । आफ्नो धाक, सम्मान आदिको जोगावट गर्दै लैजानको लागि निकै कठिनावस्था आएको छ । तर उता ठूला ठानिएका राजनीतिक दलका नेताहरुले जे–जस्ता काम गरेका भए पनि तिनलाई सहँदै र होइनलाई हो बनाएर जानुपर्ने बाध्यतामा तिनका कार्यकर्ता परेका छन् ।

यो युग कुनै अन्धकारको दासयुग होइन । कुनै पनि राजनीतिक दलले मेरा कार्यकर्ता यति हजार वा यति लाख छन् भनेर कुनै फुइँ हाँक्नुपर्दैन । आजका तिनका भक्त बनेका कार्यकर्तालाई तिनले पैसाले किनेर मात्रै पनि आफ्नो बनाइराख्न सक्दैनन् । हरेक मान्छेको आ–आफ्नो मानसिक सोच र विचार हुन्छ । नेताले लादेको मनपरितन्त्र धेरैलाई मन नपरेको हुन सक्छ । खुलारुपमा विरोध गरेमा कारबाही होला र पाउँदै गरेको केही वस्तु पनि गुम्ला कि भन्ने डरले विरोधमा उत्रन नसकेको हुन सक्छ । तर समय सधैँ एउटै रहँदैन । हिउँद सकिएपछि वर्षा लागेजस्तै हरेक मान्छेको मन परिवर्तनशील हुन्छ र परिवर्तन भइरहन्छ पनि । यो शाश्वत नियम नै हो । तँ मेरो नोकर किन बनिनस् भनेर गाली दिएर पनि साध्य हुँदैन र गाली नसहेर नेता भनाउँदालाई जुम्राले लास छोडेजसरी छोडिदिन पनि सक्छ । तर हाम्रो देशका ठूला राजनीतिक दलका नेताहरुले यो कुरा बुझेर बुझ पचाएका छन कि नबुझेर अन्धकारमै शासक बन्दै छन् भन्ने कुरो पनि दोधारमै छ । किनभने आठ कक्षासम्मको शिक्षा हासिल गरेका नेताले चलाउँदै गरेको देश हो । आखिर राजनीतिमा जति दखल छ भनिए पनि आठ कक्षा मात्र पढेको मान्छेको खुराकी दिमाग कति नै हुँदोहोला त ? भन्ने प्रश्न नउठेर रहँदैन । अर्को कुरो, स्नातक तहसम्मको पुरानो शिक्षानुसारको पढाइ हासिल गरेकै नेताले पनि हाम्रो माध्यमिक स्तरको शिक्षकको जति नै कुरा बुझेको हुँदोहोला त ? भन्ने प्रश्न उठ्छ ।

दशबर्से जनयुद्धको अन्त्य गरेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग शान्तिवार्ताको टेबुलमा आउँदै गर्दासम्म पनि गणतन्त्रलाई कसरी स्थापना गरेर करोड जनताका लागि कामयावी बनाउन सकिएला भन्ने गहिरो चिन्तन त होइन कि सामान्य चिन्तन र थौरैतिन चिन्तनसमेत थिएन भन्दा फरक पर्नेछैन । दब बर्से युद्धको नेतृत्व गर्ने कमान्डरलाई गणतन्त्र कसरी स्थापना गरेर करोड जनताका लागि कामयावी बनाउन सकिएला ? भन्ने एउटा स्पष्ट दृष्टिकोण बनेको हुँदैन र थिएन भने सर्वसाधारणले भेउ पाउने कुरै थिएन । दब बर्से युद्ध थालनी गर्दैगर्दाको अवस्थादेखि लिएर युद्धकालभरिमा जनयुद्धका नाइकेहरुको दिमाग अलिकति भए पनि फराकिलो भएर जानुपर्नेमा विडम्बना के हुन पुग्यो भने उनीहरु त आफ्ना दिमागलाई अझै साँघुरा र सङ्कुचित बनाएर प्रस्तुत हुन भ्याउने भइसकेका रहेछन् । दशबर्से जनयुद्ध कालमा उनीहरुले त के भन्नु र नेतृत्व तहले नेल्सन मन्डेलाको जीवनी कहिल्यै पनि पढेर आत्मसात् गर्न सकेका रहेनछन् । उनीहरु दशबर्से युद्धको दौडान धेरै कू्रर बन्न पुगेछन् । उनीहरुले माया, ममता, दया क्षमाजस्ता असल गुणहरुलाई चटक्के भुलेर क्रूर हृदयका बन्न पुगेछन् । शान्ति सम्झौताको अन्त्यतिर आएर पनि उनीहरुले आम नेपाली जनतालाई कहिल्यै साँचो माया प्रकट गर्न सकेनन् । उनीहरुले धेरै मात्रामा भौतिक सम्पत्ति जोड्न सकेका भए पनि तल्लो वर्गको कार्यकर्ता र नेताले त्यो भौतिक सम्पत्तिको उपभोग गर्न पाउने कुरै थिएन वा भएन । तर दशबर्से युद्धकालमा दिइएको प्रशिक्षणमा देश सबै हाम्रै अधीनमा हुनेछ, धनी र गरिबको खाडल रहनेछैन भनियो । युद्धमा लाग्ने त लागे र मारिए, धेरै आमाको काख रित्तो बनाए, आमा बनेर कोख भर्नुपर्नेको कोख रित्तो वा खोक्रो बनाए, युद्धमा नलाग्नेलाई बलजफतसँग उनीहरुले एक त्यान्द्रो हरियो घाँस देखाएर भेडोलाई डो¥याएजस्तै भेडो बनाएर डो¥याए, आखिर हात लाग्यो फुस्सा भन्ने उखान चरितार्थ हुन पुग्यो ।

शान्ति सम्झौताको अन्त्यतिर जति कटौती गरे पनि सत्ताको लागि हतारिने र तिनलाई केही न केही भाग दिएर खुशी पार्नै पर्ने बाध्यता माओवादी नेतृत्वलाई आइलाग्यो । नेतृत्वले आफ्नो खुराफाती दिमाग अलिकति घोटेर वा खियाएर विचार गर्न सक्यो । सबैलाई भाग पु¥याउनको लागि भनेर गणतन्त्रको स्थापना गरियो । गणतन्त्रको स्थापना भएपछि नेतृत्वको शान निकै चुलिएर गयो । त्यो शानसँगै आम नेपाली जनताका इच्छा र आकङ्क्षासमेत चुलिएर गए । जति चुलिएर गए पनि तिनले फल्ने र फुल्ने अनि तृप्त हुने मौका कहिल्यै पाउन सकेनन् । नेतृत्व पक्षले त्यसबारेमा इमानदार बनेर कहिल्यै एक शब्द पनि उच्चारण गरिएको सुन्न पाइएन । बरु त्यसको अलावा आम जनतालाई कतातिरबाट हुन्छ चुसेर महिमा मण्डित गणतन्त्रको भरणपोषण गर्दै यसलाई सधैँभरि यथावत् राखेर नेतृत्वले तर मारिरहने भन्ने खुराफाती दिमागको सोच बन्न थाल्यो । केही दिनकै चिन्तनपछि खुराफाती दिमागबाट संघीय राज्यको परिकल्पना गर्दै त्यो मिसनलाई पूरा गर्नको लागि घरघरमा सिंहदरबारको नारा घन्काएजस्तो गरेको सुनियो । तर वास्तविकता सिंहदरबारको सुविधा गाउँगाउँमा पु¥याउने नभएर आफ्ना कार्यकर्तालाई केही न केही काम दिई आउँदो चुनावमा भेडो बनाउँदै मत चुस्दै गर्ने खराब नियत रहेको थियो । यसरी खराब नियतले स्थापित भएको गणतन्त्रमा संघीय राज्य खारेजीको माग अहिले निकै तीव्रताका साथ उठ्दै छ । बौद्धिक वर्गका नागरिकले संघीयता घाँडो भएकोले हटाउनुपर्छ र स्थानीय तहलाई अझै क्रियाशील बनाउनुपर्छ भनेर आवाज उठाउन थालेका छन् । अलि केही समयअगाडिका यी मधुरा आवाजमा अरु स्वरहरु पनि थपिएर सामूहिक र बुलन्द आवाज बन्दै जान थालेको छ ।

कसैले पनि आफ्नै बुद्धिले, राम्ररी सोचविचार गरेर कुनै काम सम्पन्न गरी त्यसको फल पाउँदै गर्दा ऊ आफैँमा गर्वित र खुशी बन्नु सामान्य कुरा हो । तर आफू आम जनताले एक थोपो पनि नबुझेरै नेताका भाषण र आश्वासनका भरमा परेर गणतन्त्रलाई स्वीकार गरेका भए पनि अहिले आएर गणतान्त्रिक व्यवस्थाका सारथीहरुले ठीकसँगले सञ्चालन गर्न नसकेका कारण गणतन्त्र र संघीय राज्यको परिकल्पनालाई आम जनताले घृणा र तिरस्कार गर्न थालेका छन् । त्यसले जनतालाई कुनै सुविधा दिनुको साटो केवल अनेक थरीका कर लगाएर दुःख र पीडा दिने काम मात्र भएकोले सङ्घीयता खारेजीको माग जनस्तरबाटै बलियोसँग उठ्न थालेको छ । यदि अबका केही वर्ष वा भनौँ २०७९ को स्थानीय र केन्द्रको चुनाव अनि त्यसबाट निर्वाचित हुनेहरुले चलाउने सत्ताको म्याद नसकिँदासम्म कायम रहे तापनि खारेज भएर जाने कुरा निश्चित नै जस्तो बन्न पुगेको छ । ठूला भनिएका रजनीतिक दलका घमण्डले गर्दा, शासन गर्ने शासक जनपक्षीय नभई हैकमवादी बन्न पुगेका जस्ता धेरै कारणले गर्दा हाम्रो देशमा केही वर्षअगाडिदेखि कायम रहेको लोकतान्त्रिक गणतन्त्र र संघीय राज्यको अवधारणा अबका दिनमा हराएर जानेछ । यसरी हराउन बाध्य बनाउने कामको सबैभन्दा ठूलो जिम्मेवारी भनेको देश सञ्चालन गर्ने शासकको हो । त्यसका साथै अन्य आम नागरिकको पनि उत्तिकै हो । तर गणतन्त्र आम जनताको इच्छाले नभई मुठीभित्रको स्वार्थी मानसिकताको साँघुरो सपना पूरा गर्ने उद्देश्यमा आएको हो भन्न गाह्रो छैन ।

प्रतिक्रिया दिनुहोस्