काठमाडौँ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन्।
सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्केका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने उनले बताए।
महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैं उपचार गर्नुपर्ने विभेद हुन नहुने बताए।
उनले भने, ‘हामीले संसदबाट एउटा कानून बनायौं। गणतन्त्र भनेको दुई खालको नागरिकहरू हुँदैन भन्यौं। सबै समान हुन्छ भन्यौं। त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ। नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौं न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने। अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने। तर नागरिक चाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम फाल्नुपर्ने। अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत। यो गर्न पाइँदैन। यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानून बनाएका छौँ। त्यो कानूनलाई संशोधन गर्ने प्रस्तावकमध्येको एक म हुँ।’
उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैं व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे।
‘म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु, हाम्रो राष्ट्रपतिले मलाई के विश्वास छ भने यो कानूनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ। त्यसैले यो कानूनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरूले भनिसकेपछि त्यो चिकित्सकीय कुरा हो। परिवारले गर्ने निर्णयको कुरा हो। तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट। यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ। म व्यहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्याउँछ ?’
प्रतिक्रिया