पार्टीको भविष्यबारे चिन्ता गर्ने भन्दा पाएको जिम्मा ईमान्दारीपूर्वक पूरा गरौँ ,रुवाबासी गर्नै पर्दैन : महामन्त्री थापा 

0
Shares

भक्तपुर ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेता,कार्यकर्ता र शुभचिन्तकले पार्टीको भविष्यबारे चिन्ता गर्ने भन्दा पाएको जिम्मा ईमान्दारीतुर्वक पूरा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाल टे«ड युनियन काँग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले आम निर्वाचन आउन बाँकी ४ वर्षमा काँग्रेसले पाएका केन्द्रीय मन्त्रालय, प्रदेश सरकार र जितेका पालिका तथा वडामा परिणाम आउने गरी काम गरेर जनताको मन जित्न सक्नुपर्ने बताउनुभयो ।

उपनिर्वाचनको परिणाम पछि पार्टीको अवस्था के होला भनेर चिन्ता गर्ने होइन कि सरकार यसरी पो चलाउन पर्छ भन्ने हिम्मत बटुल्नुपर्ने बताउँदै उहाँले जो जहाँ छौँ त्यही राम्रो काम गर्नु पर्ने बताउनुभयो ।“पार्टीमा साथीहरूले अर्को पटक मौका पाउँला नपाउँला भनेर चिन्ता गरिरहेको देख्छु तर पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौ”– उहाँले भन्नुभयो ।

हामी जुन कुरामा चिन्ता गर्नुपर्ने त्यो कुरामा चिन्ता गरिरहेका छैनौँ भन्दै थापाले जुन कुरामा अहिले चिन्ता गर्नुपर्ने होइन त्यो कुरामा किन चिन्ता गर्ने भनी प्रश्न गर्नुभयो ।महामन्त्री थापाले भन्नुभयो,पार्टीभित्र अहिलेको चिन्ता के हो भने पाएको मौकाको सदुपयोग गर्न सक्छौ या सक्दैनौ भन्ने हो ।

“काँग्रेसले अहिले नेतृत्व गरेको हजारौँ वडा छन् ,केन्द्रको सरकार छ ,७ वटा प्रदेशको सरकारमा कहीँ सहभागी भएका छौँ ,कहीँ नेतृत्व गरिरहेको छौँ,तिनमा अझै ४ वर्षको समय छ त्यहाँ ,प्रतिबद्ध भएर काम गरौँ” थापाको भनाई थियो ।

देशका ३२९ वटा पालिकामा काँग्रेसले जितेको बताउँदै उहाँले भन्नुभयो ,“आत्मविश्वासका साथ त्यहाँ ४ वर्ष राम्रो काम गर्न सक्दैनौँ भने फेरि हामीले काम गर्ने मौका किन पाउने ? ।”सरकारमा हुँदा काम नगरेर नागरिकको मन जित्न नसक्ने हो भने फेरि सरकारमा दोहोर्‍याएर किन पुग्ने चिन्ता गर्नुपर्‍यो उहाँको भनाई थियो ।
हाम्रो अवस्था के होला  भनेर चिन्ता गर्न भन्दा पार्टीमा जसले जहाँ जे जिम्मा पाएको छ त्यहाँ उदाहरणीय काम गरेर देखाउन सक्नुपर्ने बताउनुभयो ।पाएको मौकाको सदुपयोग गर्न नसके फेरि मौका पाउँदैनौ भन्दै उहाँले काँग्रेसले केन्द्रमा पाएका मन्त्रालय नयाँ ढङ्गले चलाएर देखाउनुपर्ने बताउनुभयो ।

आर्थिक संकटको बेला गज्जबसँग अर्थ मन्त्रालय चलाएर देखाउन सक्नुपर्ने बताउँदै उहाँले सुशासनका साथ काम र परिणाम देखाऔँ,रुवाबासी गर्नै पर्दैन भन्नुभयो । कहाँनेर चुक्यौ सच्याउनका लागि पार्टीमा छलफल,समीक्षा र आत्ममुल्यांकन गरिरहेको बताउँदै नेतृत्व लगायत पार्टीमा बस्ने सबैले कमजोरी सच्याए पार्टी ठिक ठाउँमा आउने बिचार व्यक्त गर्नुभयो ।पार्टीभित्रको समस्या खोजी गर्न जरुरी रहेको बताउँदै समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव,महासचिव योगेन्द्र कुँवर,पूर्व अध्यक्ष खिलानाथ दाहाल,छापाखाना तथा सम्बद्ध श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष सुवर्णजंग सिजापति,निवर्तमान जिल्ला अध्यक्ष विष्णु खड्का लगायतले श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमै कार्यान्वय गर्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई श्रमिकको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।
टे«ड युनियन काँग्रेस भक्तपुरको सातौँ जिल्ला अधिवेशनले लक्ष्मीशोभा प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।