पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध 

0
Shares

धादिङ। 

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेवल पुल साेमबार  भासिँदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएकाे छ ।

दिउँसो वर्षा भएपछि पुलकाे धुनीबेसी पट्टिकाे भाग भासिएकाे थियाे ।

दिउँसो केहिसमय एकातर्फी भएकाे सवारी आवागमन  दिउँसो ४ बजेबाट पुरै सडक भासिएर आवागमन नै बन्द भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे ।

धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अहिले अपरान्ह ४ बजेदेखी पुलमा धेरै नै क्षति हुँदा दुवै तर्फ यातायात पुर्णरुपमा ठप्प भएको हो ।

भासिएको पुल सँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुलछेउमा केहिसमयदेखि खनिएकाे थियाे ।
राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनलाई कच्ची सडक प्रयाेग गरि अावागवन गरिएको छ । ठुला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन संचालन गर्न सकिने भएकाेले केही समय लाग्ने (एक दिन) जैसवारले बताउनुभयाे ।

सहजता अनुसार हेटाैडा काठमाडौ र काठमाडौ नुवाकाेट गल्छीकाे बाटाे प्रयाेग गर्न ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ ।