धुलिखेलमा स्वस्थ मासु विक्रीका लागि अभिमुखीकरण

14
Shares

काभ्रे।  

धुलिखेल नगरपालिका पशुपक्षी शाखाले धुलिखेल नगरपालिका भित्र रहेका मासु पसलहरुबाट विक्री हुने मासु स्वस्थ र गुणस्तरीय बनाउने अभियान स्वरुप मासु ब्यवसायीहरुका लागि तिन दिने स्वच्छ र गुणस्तरीय मासु सम्बन्धी तालिम उपलब्ध गराएको छ ।

धुलिखेल नगरपालिकाका १२ वटा वडामा रहेका ६१ वटा मासु पसलबाट दैनिक २ हजार केजी मासु विक्री हुँदै आएको छ । धुलिखेल नगरपालिका सदरमुकामका अलावा पर्यटकीय नगर पनि हो । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालका कारण साना ठुला दर्जनौँ होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् ।

स्वस्थ शहर अभियानमा नागरिकहरुले प्रयोग गर्ने हरेक खाद्यान्न गुणस्तर बनाउने गरी नगरपालिकाले मासु उत्पादन, विक्री वितरण र प्रयोगमा समेत गुणस्तरीय बनाउन तालिम प्रदान गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । नगरपालिका तथा संघ सरकारकै कानुन अनुसार मासु पसलहरुले गुणस्तरीय मासु विक्रीका लागि अपनाउनु पर्ने उपाय, सुरक्षा तथा जोखिम न्यूनीकरणका लागि खेल्नु पर्ने भूमिका स्पष्ट बनाउँदै हरेक क्षेत्रलाई स्वस्थ राख्न तालिम महत्त्वपूर्ण हुने बताउनु भयो । व्यक्तिको गोठदेखि मुखसम्म स्वस्थ मासु प्रयोगका लागि उत्पादन र विक्री वितरणका अनेक पक्षहरुलाई सुरक्षित राख्न सहयोग पु¥याउन मासु ब्यवसायीहरुलाई नगर प्रमुख ब्याञ्जुले अनुरोध गर्नु भयो ।

कार्यक्रममा धुलिखेलमा रहेका विभिन्न मासु पसलका ब्यवसायीहरु सहभागी छन् । धुलिखेल बजार भित्र मात्रै ३५ वटा मासु पसल सञ्चालनमा छन् । कार्यक्रममा उपप्रमुख नीराजन जंगमले दैनिक सञ्चालन भएको पेशा व्यवसायलाई अझै मर्यादित, ब्यवसायीक र गुणस्तरीय बनाउन भएका ऐन, नियम र कानुनको कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले स्थानीय तहले बजारलाई स्वस्थ राख्न अझ गुणस्तरीय मासु विक्री नहुँदा हुन नसक्ने जोखिमलाई न्यूनीकरण गर्न मासु जाँच ऐन कार्यविधिलाई कार्यान्वयन गर्न लागिएको बताउनुभयो ।

सोही अवसरमा नगरपालिका पशुपक्षी शाखा प्रमुख पुरुषोत्तम हुमागाईँ, स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. नितेश कार्की, नगरपालिकाका पशु चिकित्सक डा. चरणकमल धिताल लगायतले मासु स्वस्थ राख्न मासु ब्यवसायीहरुको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

धुलिखेल नगरपालिकामा दैनिक खपत हुने मासु मध्ये कुखुराको १४ सय केजी, भैँसी र राँगाका ४ सय देखि ५ सय केजी, खसीको २ सय देखि ३ सय केजी र सुँगुर/बङ्गुरको ७० देखि ८० केजीसम्म विक्री हुने गरेको तथ्याङ्क नगरपालिकाले गरेको सर्वेक्षणले देखाएको छ ।