पछिल्ला घट्नाहरू
घट्ना नं १ : १४ वैशाखमा उद्योग विभागकी शाखा अधिकृत कुमारी तारा घिमिरेलगायत दुई जना १२ हजार घुससहित पक्राउ ।
घट्ना नं २ : चैत्र ३० मा सिरहामा प्रहरी सहायक निरीक्षक कुमार भदै सवार ९ हजार रुपियाँ घुससहित पक्राउ ।
घट्ना नं ३ : चैत्र २७ मा सुनसरी बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपियाँसहित रंगेहात पक्राउ ।
घट्ना नं ४ : चैत्र १६ गते रूपन्देही शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी ५० हजार घुससहित पक्राउ ।
काठमाडौं । राष्ट्रसेवक कर्मचारीहरू घुससहित रंगेहात पक्राउ पर्ने क्रम पछिल्ला दिनमा बढेको छ । माथिका घट्नाहरू प्रतिनिधिमूलक घट्ना हुन् । सरकारी कार्यालयमा घुस खानेहरूको संख्या अत्यधिक भए पनि अख्तियारको स्टिङ अप्रेसनमा भने थोरै कर्मचारीहरू मात्रै पर्ने गरेको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेसन गर्दा राष्ट्रसेवक कर्मचारीहरू धमाधम पक्राउ हुने क्रम भने बढेको छ । पछिल्लो एक महिनामा मात्रै पन्ध्रजनाभन्दा बढी कर्मचारीहरू घुस प्रकरणमा रंगेहात पक्राउ परेको पाइएको छ । अख्तियारले स्टिङ अप्रेसनलाई भने जारी राखेको बताएको छ । विभिन्न सरकारी कार्यालयहरू अख्तियारको विशेष निगरानीमा हुँदा पनि कर्मचारीहरूले घुस खान भने छोडेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही वर्षअघि कार्यालयमा प्रवेश गर्नुअघि ‘घुस खाँदैनांै’ भनेर वाचा गर्ने र कार्यालय प्रवेश गर्ने अभियान ल्याएको थियो तर सो अभियान असफल भयो । सो अभियानलाई घुस खान माहिर कर्मचारीहरूले नै असफल पारिदिएको स्रोतको दाबी छ ।
अख्तियारकै अनुसार अहिले पनि कैयौं सरकारी कार्यालयमा घुस्याहा कर्मचारीको बिगबिगी छ तर सूचनाको अभावमा अख्तियारले स्टिङ अप्रेसनलाई व्यापक पार्न नसक्दा घुस खाने धेरै कर्मचारी उम्कँदै आएका छन् ।
स्रोतका अनुसार सरकारी कार्यालयमा तल्ला तहका कर्मचारीहरू घुससहित पक्राउ पर्ने भएपनि उनलाई घुस खान लगाउने र सेयर गर्ने कार्यालय प्रमुख तथा हाकिमहरूभने उम्कने गरेका छन् । अख्तियारले केही समयअघि मात्रै कुनै कार्यालयमा खरिदार, सुब्बा तथा अधिकृतहरू घुस खाँदै गर्दा पक्राउ परेमा सो कार्यालयको प्रमुखलाई समेत छानबिनको घेरामा राख्ने नीति लिएको थियो तर अहिले अख्तियारले सो नीति कार्यान्वयनमा ल्याउन सकेको छैन । ‘कुनै पनि कार्यालयका कर्मचारी घुससहित पक्राउ पर्छन्् भने सो घुस रकम कार्यालयको प्रमुखसम्म नै पुग्ने करिब करिब निश्चित छ ।’ स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।
स्रोतका अनुसार घुस खान सिपालु कैयौं कर्मचारीहरूले विचौलिया र एजेन्टमार्फत घुस खाने गरेकाले पनि उनीहरूको कर्तुत बाहिर आउने गर्दैन । त्यस्ता कर्मचारीहरूले ‘स्लो’ गतिमा आर्थिक पक्षलाई सशक्त बनाउने गरेको बताइएको छ ।
विभिन्न अध्ययनका अनुसार फरक फरक कार्यालयका कर्मचारीले घुस खाँदा फरक फरक प्रकृतिका बिचौलिया र एजेन्टहरू प्रयोग गर्ने गरेका छन् । अख्तियार स्रोतका अनुसार मालपोत कार्यालयका कर्मचचारीले लेखा पढी व्यवसायी तथा अन्य बिचौलियामार्फत घुस खाने गरेका छन् भने आन्तरिक राजस्व कार्यालयका कर्मचारीले अडिटरमार्फत घुस खाने गरेका छन् । यसै गरीयातायात कार्यालयका कर्मचारीले ड्राइभिङ इन्स्टिच्युटमार्फत र अन्य बिचौलियामार्फत, बस व्यवसायी, ट्रक व्यवसायीमार्फत सेटिङमा घुस खाने गरेका छन् ।
अख्तियारले कहिलेकाँही मात्रै स्टिङ अप्रेसनमार्फत् घुस खाने कर्मचारीलाई पक्राउ गर्ने भएपनि यस्ता खालका घुसका डिल र कारोबार दिनदिनै हुने गरेको छ । जनताका काम बढी हुने सरकारी कार्यालयमा नै बढी घुस चल्ने गरेको र घुस लिएका अनगिन्ती घट्नामध्ये निकै कम घट्ना मात्रै सार्वजनिक हुन गरेको छ ।
घुस खाने प्रवृत्तिमा कमी नआउनुमा कर्मचारीको मनोवैज्ञानिक अवस्था नै कारक रहेको विज्ञहरूले बताएका छन् । विज्ञहरूका अनुसार पछिल्ला समय कर्मचारीहरूले घुस लिने तरिकाहरू पनि फेर्दै गएका छन् । कर्मचारीहरूले काम भएको लामो समय पछि पैसा लिने तथा आफन्तका नाममा पैसा पठाउन लगाउने समेत गरेका छन् । केहिले घुसवापत भौतिक सामग्रीहरू लिने गरेका छन् ।
प्रतिक्रिया