काठमाडौं । काठमाडौं कपनस्थित सरस्वतीनगरकी नीरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पत्रकार सम्मेलन गर्दै पाण्डेको हत्यामा संग्लन रहेका झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।
पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्ना रहेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएको र पछि पुनः आएर हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेकोे प्रहरीले जानकारी दिएको छ ।
पाण्डेले लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा विवाद भएपछि आफूले चक्कु प्रहार गरेर हत्या गरेको विश्वकर्माले बताएका छन् । हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेको १२ सय रुपियाँ लिएर गएका विश्वकर्माले चोरेको सिक्री बेचेको पनि प्रहरीसमक्ष स्वीकार गरेका छन् । प्रहरीले बेचेको सिक्री पनि भेटिएको जनाएको छ । लुटेको सुनको सिक्री विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा धरौटीमा राखेको प्रहरीले जनाएको छ । प्रहरीले सुनको सिक्री लुटपाटका लागि नीराको हत्या गरेको अहिलेसम्मको अनुसन्धानले खुलेको दाबी गरेको छ ।
आफूहरूसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेको एसएसपी आचार्यले जानकारी दिनुभएको छ । नीरा पाण्डेको हत्या वैशाख ७ गते भएको थियो ।











प्रतिक्रिया