प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन जेठमा

0
Shares

काठमाडौँ। 

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौँमा हुने भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई हस्तान्तरण कार्यक्रममा आइतबार सो जानकारी दिइएको हो ।

गत जेठमा तय भएको महाधिवेशन विवादका कारण स्थगन भएको थियो । विवाद समाधान गर्न सदस्यताबारे छानबिन गर्न समिति गठन गरिएको थियो । सो समितिले केन्द्रीय समितिलाई दिएको प्रतिवेदनका आधारमा महाधिवेशन प्रतिनिधि सूची निर्वाचन समितिलाई बुझाइएको हो ।

अब हुने महाधिवेशनका लागि केन्द्रीय समिति र समितिले मनोनयन गर्ने १० राष्ट्रिय प्रतिनिधि बाहेक नै १३७६ प्रतिनिधि चयन भएका छन् ।

सो सूची संघका अध्यक्ष जगत तिमिल्सिनाले निर्वाचन समितिका संयोजक लालमणी पाण्डेलाई हस्तान्तरण गरे ।

कार्यक्रममा तिमल्सिनाले सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउन आफू तयार रहेको जनाउँदै त्यसमा सहजीकरण गर्न संघका प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।