प्रहरीद्वारा लोबुचे हिमालको सफल आरोहण

0
Shares

काठमाडौँ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले छ हजार एक सय १९ मिटर उचाइको सोलुखुम्बुको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजनाअन्तर्गत इन्टरपोलको एक सयौँ सदस्य राष्ट्र नेपालका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झन्डा फहराउन उहाँ आरोहणमा संलग्न हुनुहुन्छ ।

उहाँलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत चैत ३० गते नेपाल प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्री हस्तान्तरण गरी बिदाइ गर्नुभएको थियो ।

नेपाल प्रहरीमा हिमाली शाखा स्थापना भई प्रहरी कर्मचारी र नेपाल प्रहरी परिवार सङ्घका पदाधिकारीले समेत विभिन्न हिमाल सफलतापूर्वक आरोहण गर्नाका साथै सगरमाथा सफाइ अभियानमा सहभागी भएको र विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतका रुपमा भूमिकासमेत निर्वाह गरिसकेको छ ।

आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानुन कार्यान्वयनमा नेपालको पूर्णरुपमा ऐक्यबद्धता रहेको भन्ने सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवद्र्धन भई अर्थतन्त्रमा थप टेवा पुग्नाका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकमा थप सुरक्षाको अनुभूति बढ्ने विश्वास रहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बताउनुभयो ।

पहिलो पटक विसं २०३१ सालमा प्रहरी कर्मचारीका नौ सदस्य टोलीले छ हजार नौ सय २० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उद्देश्यका साथ विसं २०३३ मा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएको थियो ।

त्यसपछि नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते छ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो ।