जन्मँदै अपाङ्गता, उपचार गर्न छैन खर्च

0
Shares

काभ्रेपलाञ्चोक। 

महाभारत गाउँपालिका वडा नम्बर ४ बुढाखानी किल्ला स्थित बीचबहादुर मोक्तान र डल्कीमाया मोक्तानकी चार बर्षीया छोरी शान्ति मोक्तान जन्मँदै अपाङ्ग भइन् । उनका दुवै खुट्टा चल्दैनन् । हात चल्छ, बोली प्रस्ट छ । गरिबी र विकटताका कारण शान्तिलाई अस्पताल पु¥याउन सम्भव थिएन ।

स्वास्थ्य कार्यालय काभ्रे र महाभारत गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा शान्ति जस्ता अनेकौँ समस्या भएका तर अस्पताल जान नसकेका चार सय भन्दा धेरै बिरामीहरूले सेवा प्राप्त गरे । ‘शिविरमा पहिचान भएका गम्भीर प्रकृतिका रोग लागेर उपचार गराउनै नसक्ने अवस्थाका बिरामीहरूलाई गाउँपालिकाको सहयोग र समन्वयमा निःशुल्क उपचारका लागि पहल गरेका छौँ’– गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘शिविरले नागरिकहरुलाई स्वास्थ्य पहुँच पु¥याउन सहयोग पु¥याएको भए पनि आधारभूत अस्पताल नभएका कारण परेको समस्या समाधानका लागि पालिकाले आवश्यक पहल गरिरहेको छ ।’ एम्बुलेन्स समेत नजाने सडकका कारण महाभारतका अधिकांश वडाका नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित छन् ।

बीचबहादुरको आफ्नो जग्गा र घर छैन । बाटो छेउमा टहरा बनाएर त्यही टहरामा भैँसी एउटा पालेर बसेका बीचबहादुरको पहिलो सन्तान ८ वर्षको छोरा लाक्पा दोर्जे मोक्तान स्वस्थ छ । नजिकै रहेको ग्रामोन्नती मावी किल्लामा अध्ययन गरिरहेका लाक्पाको शिक्षाका लागि पनि लगानी गर्न उनीहरूसँग श्रोत छैन । दोस्रो सन्तान छोरी शान्तिको जन्म भयो । परिवारमा केही नभए पनि छोरी जन्मिए पछिको खुसी चार वर्ष हुँदासम्म पाउन सकेनन् । छोरी बोल्दै गइन् । हात चलाउँदै गइन् । बोली फुट्यो, हात चल्यो, शरीर चल्यो तर खुट्टा चलेनन् । जन्मे देखिको उक्त समस्या चार वर्ष हुँदासम्म देखाउन जाने साहस बीचबहादुर र उनको श्रीमती डल्कीमाया मोक्तानमा आएन । ‘बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था छ’–डल्कीमायाले भन्नुभयो–‘अस्पताल लैजान त पैसा हुनु प¥यो नि ?’ शहरसम्म पुग्ने भाडा र उपचार गराउने पैसा नभएका कारण चार वर्ष देखि बच्चा अस्पताल लैजान नसकेको कारुणिक घटना स्वास्थ्य शिविरमा आए पछि देखियो । चार बर्षिया बालिका शान्ति मोक्तानको निःशुल्क उपचार र शहरसम्म ल्याउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले बताउनुभयो ।

‘जन्मँदै उनमा देखिएको अपाङ्गताको कारण पनि खोजिनेछ’–डा. सेढाईले भन्नुभयो–‘त्यसको पहिचान गरे पछि अन्य बालबालिकाहरुमा त्यो खालको अपाङ्गता हुन नदिन पालिकासँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिनेछ ।’ बालिकाको मेथिन्कोट अस्पताल मार्फत निःशुल्क उपचार भइरहेको छ । त्यहाँ उपचार सम्भव नभए अन्यत्र रिफर गरिने तर सहयोग जुट्न सम्भव छैन । त्यस्तै २२ वर्षिया कमला थिङ्ग २२ दिनको सुत्केरी हुनुहुन्छ । २२ दिनकी छोरीले नियमित दूध खान्छिन्  । दिसा पनि गर्छिन् । तर पिसाब भने एक दिन बिराएर गर्छिन् । पहिलो बच्चा भएकाले उनको हुर्काइमा ध्यान दिएका अभिभावकहरूले बच्चाको पिसाब नभए पछि चिन्ता गरे तर अस्पताल नजिक नभएकाले लैजाने साहस गरेनन् । निःशुल्क शिविरमा बच्चाको समस्या पहिचान हुन नसके पनि प्रारम्भिक उपचारले तत्कालको समस्या समाधान भए पनि बिरामी होला र ? फेरी समस्या पर्ला भन्ने चिन्ताले सताई रहेको छ । उपचार गराउन जान लाग्ने गाडी भाडा समेत नभएकाले उनीहरूलाई पनि उपचारकै चिन्ता थपिएको छ । आधारभूत अस्पताल गाउँमै भएको भए एक दिनको बाटो हिँडेर भए पनि उपचार गराउन सहज हुने आशा स्थानीयहरूले व्यक्त गरे । ६२ बर्षिया ताराकुमारी मोक्तानले नियमित औषधी खाएको ६÷७ वर्ष भयो । दाहिने हात लाटो जस्तो भएको अनुभूति हुन्छ निको नभएकाले परीक्षण गराउन आउनु भएकी ताराकुमारीलाई केही दिनलाई औषधी त दिइएको छ त्यस पछि पनि निको भएन भने कहाँ जाने ? कसरी अस्पताल पुग्ने भन्ने थप चिन्ता छ । ‘भए निको हुन्छ, नभए पनि अब अस्पताल जान सकिँदैन, उपचार भएन भने यसरी नै काल पर्खिने त होला नि ?’–उहाँको गुनासो छ ।

उदयपुरको रामपुरबाट कक्षा ९ अध्ययन गर्दा गर्दै १९ बर्षिया आयुषा राना मगर गर्भवती भएको चार महिना भयो । ३० बर्षिय मनिष राना मगरसँग फेसबुक मार्फत प्रेम परेपछि विवाह गरेकी आयुषाले नियमित गर्भ परीक्षण स्वास्थ्य संस्थामा गराएको भए पनि भिडियो एक्सरे गराउन पाउनु भएको थिएन । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नहुने थाहा भए पनि आयुषाको प्रेम भए पछि २०७९ मसिंर २३ गते भागी विवाह गरेकी थिइन् । विवाह गरेको एक महिनामै गर्भवती भएकी आयुषाको गर्भ परीक्षणका लागि निःशुल्क स्वास्थ्य शिविर फलदायी बनेको बताउनुभयो । ‘भिडियो एक्सरे गर्न सदरमुकामसम्म जाँदा ५ हजार भन्दा धेरै खर्च हुने रहेछ’– आयुषाले भन्नुभयो–‘घर नजिकै आएको शिविरमा परीक्षण गराउन पाउँदा खुसी छु । यस्तो सेवा गाउँमै नियमित हुन सक्यो भने थुप्रै महिलाहरूलाई सहज हुने थियो ।’ आयुषा जस्ता दर्जनौँ बालबालिकाहरुले फेसबुक मार्फत भागी विवाह गरेका छन् । आफै बच्चा हुँदा हुँदै बच्चाको आमा बन्न तयार भएका बालिकाहरुको नियमित स्वास्थ्य परीक्षणमा समेत नजिकै अस्पताल नभएका कारण असहज भएको छ । नियमित सवारी साधन चल्न नसक्ने, चलेको सवारी साधनमा ओहोर दोहोर गर्न पैसा नहुने, उपचारका लागि थप रकमको जोहो गर्न नसक्ने समस्याका कारण महिला तथा बालबालिकाहरु र ज्येष्ठ नागरिक समेत भगवान् भरोसामा जीवन बिताइ रहेका छन् ।

शिविरमा सहभागी जिल्लाका विशिष्ट ब्यक्तिहरुले अकालमा ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न सडक र अस्पताल लगायतका आधारभूत आवश्यकता पुरा गर्ने बताए पनि निर्माणाधीन सडक अलपत्र पार्ने निर्माण व्यवसायी तथा अन्य पूर्वाधार निर्माणमा पहलकदमी गर्न नसक्दा महाभारतवासीका पीडा हरेक वर्ष सहज नभई गहिरो बन्दै गएका छन् । प्रमुख प्रशासकीय अधिकृत हरि सिं विष्टले नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न भएका स्वास्थ्य चौकीको स्तरोन्नति र गुणस्तरीय सेवाका लागि जनशक्ति व्यवस्थापनमा ध्यान दिएको बताउनु भयो । आधारभूत अस्पताल निर्माणको चरणमा रहेकाले आगामी वर्ष देखि नागरिकहरुले प्राप्त गर्ने स्वास्थ्य सेवामा पहुँच पुग्ने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।