डोल्पामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

0
Shares

काठमाडौं।

कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्याइएको छ ।

प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीबारबाट सञ्चालनमा ल्याई सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताउनुभयो । ‘डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि टेण्डरको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनौट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघुजलविद्युत आयोजनामार्फत विद्युत् आपूर्ति हुदै आएकोमा अब राष्ट्रिय ग्रिडमार्फत हुनेछ, साथै जिल्लाभरी विद्युत सेवा विस्तार गरी विद्युतीकरणका लागि काम भइरहेको छ ।’