पब्लिकेसनलाई कारबाही गर



कोर्स परिवर्तन भैसकेको पाठ्यपुस्तकमा दुई पेज छपाइ गरेर नयाँ पुस्तक भन्दै लाखौं विद्यार्थीलाई ठग्ने पुस्तक प्रकाशक र विक्रेतालाई सरकारले कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । खसीको टाउको राखेर बाख्रोको मासु बेच्ने भनेजस्तै कक्षा ५ को पुरानो पुस्तकमा विषय सूची र पुस्तकको बारेमा जानकारी दिने सामग्रीसहित दुई पेज मात्र छपाइ गरेको पाइएपछि त्यस्ता पुस्तक बिक्री गर्ने आठराई र ओयसिस पब्लिकेसनमाथि कारबाही गर्नुपर्ने प्रश्न उठेको छ । आठराई पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रको पाठ्यसामग्री स्वीकृतिपत्रको दुरुपयोग गरी पुरानो किताब बजारमा बिक्री गरेको फेला परेको थियो । शैक्षिक सत्र शुरु नहुँदै चैतको पहिलो साताबाट देशका विभिन्न जिल्लामा पुरानो पुस्तक बिक्री गरेको पाइएपछि पाठ्यक्रम विकास केन्द्रले कारबाही गर्ने बताएको छ ।

यस वर्षबाट कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन भैसकेको छ । परिवर्तन भैसकेको पुस्तक बिक्री गरेबापत ७० प्रतिशतसम्म छुट दिएर बिक्री गरेको खुलेको थियो । मधेस प्रदेश, कोशी, लुम्बिनी र वाग्मती प्रदेशका केही जिल्लामा छ्यापछ्याप्ती बिक्री भएको पाइएपछि केन्द्रले छानबिन शुरु गरेको छ । जानी–जानी गल्ती गर्नेमाथि छानबिन होइन प्रकाशन गर्नै नपाउने गरी तत्काल कारबाही गर्नुपर्छ । होइन भने पुरानो पुस्तक बिक्री गर्न मन्त्रालयका उपल्लो ओहदाका उच्च अधिकारीको संलग्नता पुष्टि हुन्छ । देशका करिब आधा दर्जन पब्लिेकेसन सञ्चालन गरी कमिसनको प्रलोभन देखाएर पाठ्यपुस्तक बिक्री गर्ने आठराईले विभिन्न निकायलाई प्रभाव पार्न किताब फिर्ता गरेको बहाना गरेको छ ।

अक्षम्य गल्ती गर्ने अनि आफूहरु चोखो भएको बहाना बनाउने त्यस्ता प्रकाशनमाथि कारबाही गर्न केन्द्र डराउनुहुँदैन । केन्द्रले गम्भीर त्रुटि गर्ने आठराई र ओयसिस पब्लिकेसनलाई २४ घन्टे स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरण सोधेर मात्र पुग्दैन, प्रमाण प्राप्त भएपछि कारबाही गर्न पछि पर्नुहुँदैन । केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आठराई र ओयसिस पब्लिकेसनले कोर्स परिवर्तन भएको पुस्तकमा केन्द्रको पत्र राखेर धमाधम बिक्री गरेको बताइसक्नुभएको छ । पब्लिकेसनले उपत्यकामा कोर्स परिवर्तन भएको पुरानो पुस्तक बेचेको छैन । चेतनास्तर कम भएका र बढी कमिसनको लोभ भएका प्रदेशका वितरकलाई केन्द्रको पत्र र संस्करण थपेर बिक्री गरेको पाइएको छ ।

केन्द्रले पब्लिकेसनले गरेको गलत प्रमाण फेला पारिसकेको छ । केन्द्रले विभिन्न जिल्ला र विक्रेताबाट कोर्स परिवर्तन भएको पाठ्यपुस्तक संकलन गरिसकेको छ । सोही आधारमा पब्लिकेसनलाई कारबाही गर्ने प्रशस्त प्रमाण रहेको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका–२०७९ को दफा १२ मा स्वीकृति नलिई छपाइ गरेमा, तोकिएको मापदण्ड पालना नगरेमा, बढी मूल्य राखेको पाइएमा, स्वीकृति पाएको भन्दा भिन्न स्वरूपमा छपाइ तथा बिक्री वितरण गरेको पाइएमा सामग्री जफत गरी दुई वर्षसम्म पुस्तक प्रकाशन र वितरण गर्न रोक लगाइने र थप कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सकिनेछ भनी उल्लेख छ । निर्देशिकामा उल्लेख भएअनुसार कारबाही गर्न सरकार हिच्किचाउनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्