औलो नियन्त्रणमा गम्भीरताको खाँचो



विश्वमा मलेरिया (औलो) दिवस मनाइरहँदा नेपालमा औलोका बिरामी न्यूनीकरण गर्न अनुसन्धान गर्ने योजना भइरहेको जानकारी गराइयो । औलो धेरै पुरानो र परम्परागतरुपमा परिचित समस्या हो । यसको न्यूनीकरणका लागि विश्वव्यापीरुपमै विभिन्न खाले अध्ययन–अनुसन्धान हुनु स्वागतयोग्य कुरा हो । औलो न्यूनीकरणका लागि जनचेतनामूलक सन्देशका साथ विभिन्न कार्यक्रमको आयोजना गरिनुले मात्र समस्याको समाधान हुन्न । ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य कार्यान्वयनमा लगानी’ भन्ने मूल नाराका साथ विश्वभरि औलो दिवस मनाइयो । नेपालमा पनि सदाझैँ एउटा कोठामा बसेर कर्मकाण्डी काम पूरा भयो । के यसरी लामखुटट्े नष्ट होला त ? औलोको मूल स्रोत भनेको पोथी लामखुट्टेको टोकाइ हो भन्ने प्रमाणित भइसकेको अवस्थामा हरेक वर्ष अनुसन्धान जारी छ, सबैले झुल, पूरा बाहुला भएको कपडा लगाऊँ भन्ने स्लोगन सुनाएर मात्र समस्याको समाधान होला त ? प्रश्न गम्भीर छ ।

लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उत्तम उपाय हो । लामखुट्टेको वृद्धिविकास रोक्ने उपायको पहिचान गरी निर्मूलीकरणतर्फ लाग्न सरकारलाई केले रोक्छ ? सरकार स्वयंले समस्याको मूल जड थाहा पाएकै छ भने यसलाई यति समयभित्र निर्मूल पार्न यो योजना बनायौं भन्दै कार्यक्षेत्रमा किन नउत्रने ? प्रत्येक वर्ष २५ अप्रिलमा मनाइने ‘औलो’ विरुद्धको दिवस आगामी वर्ष बिरामीको संख्या बढेको तथ्यांक पेस गरेर हैन कि यो–यो क्षेत्रमा लामखुट्टे नष्ट भयो र औलो उन्मूलन भयो भन्ने तथ्यांक लिएर आउने हैसियत सरकाले बनाओस् । दिवसका दिनमा विश्वव्यापीरुपमा चेतनामूलक सन्देश फैलाएर मात्र लामखुट्टेको निर्मूल हुँदैन ।

विशेष गरी औलो एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो । यो रोगबाट बच्न आम मानिसले अपनाउनुपर्ने सुरक्षाका लागि झुल, कीटनाशक औषधि, वातावरण आदिका बारेमा कसले व्यवस्थापन गर्ने भन्ने विषयमा सरकार स्वयं जिम्मेवार हुनुपर्छ । कागजमा मात्र होइन, व्यवहारमा समेत उतारेर सहज निकास दिनेतर्फ सरकार लागोस् । टाउको दुख्नु, थकाइ लाग्नु, वाकवाकी लाग्नु, अत्यधिक जाडो हुनु, जीउ दुख्नु, ज्वरो आउनु, बान्ता हुनु, शरीरका भित्री अंग सुन्निनु, शरीरमा रगतको मात्रा कम हुनुलगायतका समस्या औलोका लक्षण हुन् । यति बेला त्यस्तै लक्षण बोकेका कोभिड, डेंगु, सिजनल फ्लु पनि सँगसँगै छन् । त्यसैले समस्या के हो, कसरी पहिचान गर्ने र पहिचानपछि उपचार कसर िसहज हुने भन्ने बारेमा जानकारीसहितको व्यवस्थापनतर्फ सरकारको ध्यान पुगोस् ।

औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए÷नभएको पत्ता लगाउन सरकारी स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण र उपचार गरिन्छ भन्ने सूचना मात्र दिएर पुग्दैन । स्थानीय निकायको कुन–कुन स्वास्थ्य संस्थामा परीक्षण हुन्छ, जनशक्ति छ कि छैन, औषधि त्यहाँ पाइन्छ कि पाइँदैन, स्थानीय स्वास्थ्य चौकीमा रगत परीक्षण गर्ने ल्याब छ कि छैन ? छैन भने कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ । शहरका ठूला महलमा बसेर नेतृत्व गरिरहेका नेताहरुले सरकारमा पुगेपछि साधारण उपचारका लागि पनि विदेश जाने र नेपालको ढुकुटी खर्चिने गरेका छन् भने सर्वसाधारणले औलो, ज्वरो, डेंगु, कोरोनाको परीक्षण गर्न पैसा तिर्नुपर्ने ? यस्तो अवस्थामा रोग कसरी निर्मूल बनाउने भन्ने विषयमा सरकार गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्