आठराई पब्लिकेसनको बदमासी : दुई पेज थपेर पुरानै कोर्सको पुस्तक बिक्री

‘गल्ती भयो, पुरानो कोर्सको पुस्तक फिर्ता गर्छौं’ : सञ्चालक विष्ट



–पब्लिकेसनलाई २४ घण्टे स्पष्टीकरण
–हदैसम्म कारबाही गरिने
–मधेस प्रदेश र लुम्बिनीका विद्यालयमा पुरानै कोर्स पढ्दै

काठमाडौं । आठराई र ओयसिस पब्लिकेसनले कोर्स परिवर्तन भइसकेको कक्षा ४ र ५ को पाठ्यपुस्तक पुस्तक बजारमा बिक्री गरेको खुलेको छ । आठराई पब्लिकेसनले पाठ्यक्रम विकास केन्द्रको पाठ्यसामग्री स्वीकृतिपत्र, पब्लिकेसन र पुस्तक लेखक र पुस्तक परिचय राखेर पुरानो किताब बजारमा बिक्री गरेको फेला परेको छ ।

पाठ्यक्रम विकास केन्द्रले यो वर्षबाट कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गरेको छ । पब्लिकेसनले कक्षा ५ को पुरानो पुस्तकमा दुई पेज थपेर बिक्री गरेको पाइएको छ । किलोमा जोखेर बेच्नुपर्ने पुस्तक बिक्रेतालाई धेरै कमिसन दिएर बिक्री गरेको हो ।

पब्लिकेसनले नयाँ शैक्षिक सत्र शुरू हुनु करिब १५ दिनअघि नै मधेस, लुम्बिनी र वागमती प्रदेशका केही जिल्लामा छ्यापछ्याप्ती बिक्री गरेको छ । दुई पब्लिकेसनले केन्द्रको पत्रको आकारमा पुस्तकको साइज बनाएर बिक्री गरेको पाइएको छ ।

आठराईले २ सय ९२ मूल्य तोकेर १९२ पृष्ठको पुस्तक बिक्री गरेको खुलेको छ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएको नयाँ कोर्समा १५ पाठ र ३ वटा स्वमूल्याङ्कन समावेश छन् । पुरानो पाठ्यक्रममा आधिकारिक पुस्तकमा १८ पाठ रहेको छ ।

पुस्तकमा नयाँ स्वीकृति लिएको पाठ्यक्रम विकास केन्द्रको पत्र र पुस्तकको गाता नयाँ थपेर ती पुस्तक बजारमा पु¥याएको जानकारी पाएपछि केन्द्रले आठराई र ओयसिस पब्लिकेसनलाई मंगलबार दिउँसो २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले आठराई र ओयसिस पब्लिकेसनले कोर्स परिवर्तन भएको पुस्तकमा केन्द्रको पत्र राखेर धमाधम बिक्री गरेको बताउनुभयो । दुई पब्लिकेसनले पुरानो पुस्तक बिक्री गरेपछि केन्द्रले विभिन्न क्षेत्रबाट पाठ्यपुस्तक संकलन गरेको थियो । उहाँले भन्नुभयो– ‘बदमासी गरेको प्रमाण फेला पारेका छौं, स्पष्टीकरण आएपछि के कारबाही गर्ने भन्ने विषयमा निर्णय गर्नेछौं ।’

उक्त प्रकाशनले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिएको कक्षा ५ कै ३३६ मूल्य, २९२ पेज र १५ पाठ रहेको पुस्तक पनि बिक्री गरिरहेको छ । कक्षा ५ को कोर्स परिवर्तन भएको पुरानो र स्वीकृति लिएको नयाँ पुस्तक एउटै कक्षाका विद्यार्थीको हातमा परेपछि यो रहस्य बाहिर आएको हो ।

पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका–२०७९ को दफा १२ मा स्वीकृति नलिई छपाइ गरेमा, तोकिएको मापदण्ड पालना नगरेमा, बढी मूल्य राखेको पाइएमा, स्वीकृति पाएको भन्दा भिन्न स्वरूपमा छपाइ तथा बिक्रीवितरण गरेको पाइएमा सामग्री जफत गरी दुई वर्षसम्म पुस्तक प्रकाशन र वितरण गर्न रोक लगाइने र थप कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सकिनेछ ।

बदमासी गर्ने प्रकाशकलाई सम्झौता तथा केन्द्रबाट निर्धारित दायित्व पूरा नगर्ने मुद्रक तथा वितरकलाई केन्द्रले बढीमा दुई वर्षसम्म उक्त प्रयोजनका लागि सूचीकरण गर्न रोक लगाइने उल्लेख छ । केन्द्रका महानिर्देशक अर्यालले दुई पब्लिकेसनले गम्भीर गल्ती गरेको बताउँदै सो विषयमा छानबिन भइरहेको जानकारी दिनुभयो ।

पब्लिकेसनले उपत्यकामा कोर्स परिवर्तन भएको पुस्तक बेचेको छैन । चेतनास्तर कम भएका र बढी कमिसनको लोभ भएका प्रदेशका वितरकलाई कोर्स परिवर्तन भएको पुस्तकमा केन्द्रको पत्र र संस्करण थपेर बिक्री गरेको पाइएको छ । निर्देशिकाको दफा ११ मा प्रकाशक वा मुद्रक तथा वितरकले उत्पादन गरेको पुस्तक तोकिएको गुणस्तरको नपाइएमा केन्द्रले त्यस्ता प्रकाशक, मुद्रक तथा वितरकलाई कारबाही गर्न सक्ने उल्लेख छ ।

त्यस्तै, गुणस्तरहीन पुस्तक बजारमा बिक्रीवितरण गर्न पाइने नपाइने र त्यसबाट पर्ने आर्थिक हानि नोक्सानीका लागि सम्बन्धित लगानीकर्ता, प्रकाशक, मुद्रक तथा वितरक नै जिम्मेवार रहने उल्लेख छ ।

सो पब्लिकेसनले तराईका अधिकांश जिल्लामा कोर्स परिवर्तन भएको पुस्तक पु¥याएको छ । शैक्षिकसत्र शुरू भएपछि विद्यार्थीले कोर्स परिवर्तन भएको जानकारी पाउनेछन् भनी शैक्षिक सत्र शुरू हुनुअगावै पब्लिकेसनको स्टोरमा रहेको कोर्स परिवर्तन भएको पुस्तक बिक्री गरेको पाइएको छ ।

कोर्स परिवर्तन भइसकेको पुस्तक बिक्री गर्न कानुनने वर्जित गरेको छ । कवाडीले ती पुस्तक किलोको १२ देखि १५ रुपियाँसम्ममा खरिद गर्ने गरेको छ । कानुन उल्लंघन गरी शक्तिको आडमा पुरानो कोर्सको पुस्तक बिक्री गर्ने प्रकाशन गृहमाथि जघन्य अपराध ठहरिन्छ ।

‘गल्ती भयो, पुरानो कोर्सको पुस्तक फिर्ता गर्छौं’ : सञ्चालक विष्ट

शक्तिको आडमा बदमासी गरेका आठराई पब्लिकेसनका सञ्चालक हरिशचन्द्र विष्टले गल्ती स्वीकार्नुभएको छ । विष्टले भन्नुभयो– ‘हामीले गल्ती ग¥यौं अब यस्तो हुँदैन ।’ नेपाल समाचारपत्रको जिज्ञासामा आफ्नो प्रकाशनको गल्ती नभएको जबरजस्ती गरिरहेका सञ्चालक विष्टले काम गर्ने सिलसिलामा गल्ती भएको बताउनुभएको छ ।

विद्यार्थी, विद्यालय र सरकारमाथि जघन्य अपराध गर्ने सो प्रकाशनले गोदाम खाली गराउन र छोटो समयमा लाखौं रुपियाँ कमाउने नियतले कोर्स परिवर्तन भएको किताबमा दुई पेज मात्र थपेर नयाँ पुस्तक भन्दै बिक्री गरेका थिए ।

‘हामीले जहाँजहाँ पुस्तक दिएका छांै, सबैतिरबाट फिर्ता ल्याएका छांै, अब कतै पनि पुरानो पुस्तक बिक्री गर्ने छैनौं’ –विष्टको भनाइ थियो । पुरानो कोर्सको पुस्तक बिक्री भएको विषयमा समाचार प्रकाशित भएपछि पब्लिकेसन आफैंले किताब फिर्ता गर्न सूचना जारी गरेको थियो ।
झन्डै आधा दर्जन पब्लिकेसन सञ्चालन गरेको सो समूहले अघिल्लो वर्ष पनि पुरानो पुस्तकलाई कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गर्दै धमाधम पुस्तक बिक्री गरेको रेकर्ड केन्द्रसँग रहेको छ ।

यो वर्ष कोर्स परिवर्तन भएपछि मात्रै हल्ला चल्यो । हरेक वर्ष यस्तो काम गर्ने आठराईमाथि कारबाही गर्नुपर्ने हुन्छ । पब्लिकेसनका सञ्चालक विष्टले आजसम्ममा पाठ्यक्रम विकास केन्द्रलाई जवाफ दिने बताउनुभयो ।

शुरूमा आफूहरूले पुरानो कोर्स भएको पुस्तक नबेचेको जिकिर गरिरहेका सञ्चालक विष्टले नेपाल समाचारपत्रसँग पुस्तक सुरक्षित रहेको बताएपछि गल्ती स्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्