फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

0
Shares

काठमाडौँ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास तत्कालका लागि रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो ।

कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको प्राधिकरणको भनाइ छ । यस्तो गलत सूचना सम्प्रेषण गर्ने फ्लाइ दुबईका कर्मचारीलाई तत्कालका लागि विमानस्थल छिर्न नदिनेगरी पास रोक्का गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यद्यपि, उनीहरूको पास कति समयसम्म रोक्का रहन्छ, सो भने प्राधिकरणले बताएको छैन ।

सोमबार राति ९ः २० बजेट १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाइ दुबईको कलसाइन एफजेड–५७६ विमानमा उडान लगत्तै आगोको मुस्लोसहित अस्वाभाविक आवाज निस्किएको थियो । यसलगत्तै केहीबेर नेपाली आकाशमा नै जहाज होल्ड गरेर स्थिति सामान्य भएपछि विमान दुबई नै प्रस्थान गरेको थियो ।