हेल्थ टिप्स- निद्रा नपर्नुका कारण र समाधानका उपाय

0
Shares

अनिद्रा पनि एक आम समस्या हो । कहिलेकाहीँ राम्रो निद्रा नपर्नु ठूलो समस्या होइन तर हरेक रात निद्रा नपर्ने समस्या भने सानो होइन । यसले रक्तचाप बढाउने, बेचैनी हुने, शरीर शिथिल रहने, झर्को लाग्ने, रिसाउने–झर्कने, टाउको दुख्ने, खान रुचि नहुने जस्ता समस्या ल्याउँछ । धेरै रातसम्म निद्रा नपर्नुलाई डिप्रेसन वा अन्य मानसिक रोगको एक प्रमुख लक्षण मानिन्छ ।

अनिद्राको समस्या समाधान गर्ने केही उपायहरु छन् । आधुनिक चिकित्सा (ऐलोप्याथी), आयुर्वेद, होमियोप्याथी आदिले औषधि खान सिफारिस गर्छन् । तर औषधि खाएर निद्रा बोलाउनु उचित होइन । यसलाई अन्तिम विकल्पको रुपमा मात्र अपनाउनुपर्छ । औषधिभन्दा प्राकृतिक उपाय, योग, शारीरिक अभ्यास आदि तरिकाबाट अनिद्राको समस्या समाधान गर्नु सर्वथा उचित हुन्छ ।

निद्रा र पहिरन :

सुत्दा कस्तो लुगा लगाएर सुत्ने भन्ने कुराले महत्व राख्दछ । विपन्नताका कारण राति सुत्दा लगाउने बेग्लै लुगाको व्यवस्था गर्न सक्ने परिवार हाम्रो जस्तो समाजमा कमै हुन्छन् । तर राति सुत्दा जे–जस्तो लुगा लगाए पनि त्यो लुगा कस्सिने खालको नभई खुकुलो हुनुपर्छ । दिउँसो लगाएकै पाइन्ट लगाएर सुत्ने हो भने पेटी फुकालेर वा सुरुवाल, पेटिकोट आदिको इजार खुकुलो पारेर सुत्नुपर्छ । सुत्दा शरीरमा सकेसम्म हलुका र खुकुलो लुगा हुनुपर्छ ।

घुर्ने समस्या :

निद्रामा घुर्ने समस्या भएका मानिसहरु धेरै हुन्छन् । निदाउँदा श्वासप्रश्वास नली पूरै नखुली केही अवरुद्ध भएमा श्वास तान्न बल लगाउनुपर्छ । त्यही बल लगाउँदा आउने आवाज नै घुराइ हो । श्वासनलीमा अनावश्यक मासु पलायो भने पनि यो समस्या हुन्छ । यस्तो अवस्थामा शल्यक्रिया गरी त्यो मासु फाल्नुपर्दछ । सुत्न अप्ठेरो भएमा पनि घुर्ने समस्या हुन्छ । मोटो मानिसको घाँटीमा बोसोको मात्रा बढी हुँदा सास फेर्ने नली साँघुरो भइदिन्छ र सास फेर्न असजिलो भई घुरेको आवाज आउँछ । अक्सर मोटो मानिसको घुर्ने बानी हुनुको कारण यही हो । नाकको पछाडिको मासु केही बढ्यो भने वा नाकको हड्डी केही बाङ्गो छ भने बालबालिकालाई पनि सास फेर्न गारो हुन्छ, त्यसैले उनीहरु पनि सुतेका बेलामा घुर्न थाल्छन् । टनसिलाइटिसको कारण घाँटीमा बारम्बार समस्या भइरहने बालबालिका वा वयष्कमा पनि घुर्ने बानी हुन्छ ।

सुत्दा सधैँ घुर्ने मानिसको फोक्सो र मुटुमा गम्भीर समस्या आउन सक्छ । निद्रामा घुर्ने मानिसले पूर्ण निद्रा पाएको हुँदैन । त्यसैले निद्राबाट ब्यूँझिएपछि पनि ऊ जहाँ बस्यो त्यहीँ निदाउन खोजेको देखिन्छ । झट्ट सुन्दा सामान्य लागे पनि लामो समयसम्म सधैँ सुत्दा घुर्ने व्यक्तिले चिकित्सकको सम्पर्कमा गई यथासम्भव छिटो उपचार गराउनुपर्दछ । कहिलेकाहीँ मात्र घुर्नुचाहिँ सुताइ सजिलो नभएर हुनसक्छ, जो गम्भीर समस्या होइन ।

अन्त्यमा, उचित आहार, उचित निद्रा सबैका लागि अपरिहार्य छ । मानव समुदायमा त राम्रो निद्रालाई सुखी र खुसी जीवनको मापदण्ड पनि मानिन्छ । किनकि जो मानिस आफ्नो जीवनप्रति सन्तुष्ट र तनावरहित छ, ऊ मात्र राति मस्तसँग निदाउन सक्छ । मनमा अलिकति मात्र पनि पिर, चिन्ता वा तनाव छ वा शरीरमा कुनै पीडा छ भने त्यो मानिस निदाउन सक्दैन । ‘रातको निद र दिनको चैन’ नै सुखी जीवनको मापक हो । खानपिनमा रुचि ठीक छ, दिसा–पिसाब ठीक छ र निद्रा पनि ठीक छ भने त्यस्तो मानिसलाई सामान्यतया तन्दुरुस्त मानिन्छ । तसर्थ कुनै रासायनिक औषधिको प्रयोग नगरीकनै आफ्नो उमेर अनुसारको औसत निद्रा प्राप्त गर्न सबैजनाले प्रयत्न गर्नुपर्छ । चाहेजस्तो निद्रा पाउन सबैलाई सजिलो नहोला, तर असम्भव पनि त छैन ।

अनिद्राको समाधान गर्ने सरल र हानिरहित उपाय :

हरेक रात सुत्ने र बिहान उठ्ने समय एउटै निश्चित गर्ने ।

सुत्ने कोठा, ओछ्यान आदि निद्रा अनुकूल शान्त र सफा बनाउने
मौसम अनुसारको ओछ्यान व्यवस्थापन गर्ने ।

कोठामा श्रीखण्ड वा ल्याभेन्डरको हल्का सुगन्ध आउने व्यवस्था गरेमा निद्रा राम्रो पर्छ ।

भोकै नसुत्ने, राति सधैँ हलुका खाना खाने । सुत्नुअघि एक गिलास मनतातो दूध पिउँदा राम्रो निद्रा पर्ने धेरैको अनुभव छ । सुत्नुअघि पानी नपिउने । पानी पिएमा राति पिसाब गर्न उठिरहनुपर्छ, जसले निद्रामा बाधा पर्छ ।

शारीरिक परिश्रम, व्यायाम आदि नियमित रुपमा गर्ने । बेलुकाको खाना खाएपछि १५–२० मिनेट आँगन, कौसी वा चौरमा हिँड्ने । यसो गर्दा पाचनक्रिया र निद्रा दुवैलाई फाइदा हुन्छ । राति खाना खाएको लगत्तै सुत्नु ठीक होइन ।

कतिपय मानिसहरु मदिरा पान गरेर सुतेमा राम्रो निद्रा पर्ने विश्वास गर्छन्, यो भ्रम मात्र हो । मदिराले नसा छउन्जेल मात्र निद्रा दिने हो ।

चिन्ता र मनमा कुरा खेल्ने कारण पनि अनिद्राको समस्या हुन्छ । त्यसैले चिन्ता, तनाव आदिलाई आफ्नै क्षमताले व्यवस्थित गर्नुपर्दछ ।

राति निद्रा नपर्ने समस्या भएका मानिसले दिउँसो सुत्ने गर्नुहुँदैन । यद्यपि दिउँसो सुत्नु कतिपयका लागि लाभदायक पनि हुन्छ । दिउँसोको खानापछि केही बेर (करिब आधा घन्टा) सुत्ने प्रचलन (न्याब) धेरै समाजमा पाइन्छ । चीन, जापानजस्ता अत्यधिक परिश्रमी मुलुकहरुमा पनि दिउँसो खाना खाएपछि केही बेर सुतेर पुनः ताजा भई काममा संलग्न हुने चलन देखिन्छ । त्यसैले कतिपय मुलुकका कार्यालयहरुमा लन्च आवर नै डेढ घन्टा छुट्याइएको हुन्छ । यो खाना खान र केही बेर सुतेर विश्राम गर्नको लागि समेत दिइएको समय हो । हाम्रो समाजमा पनि ६० नाघिसकेका प्रौढहरु खाना खाएपछि दिउँसो केही बेर सुत्ने गरेको पाइन्छ । गृहिणीहरुमा पनि यस्तो बानी पाइन्छ । यो गलत होइन । तर दिउँसो सुतेकै कारणले राति निद्रा नलाग्ने अवस्था भने आउन दिनुहुँदैन । कार्बोहाइड्रेड अधिक हुने भात खाएपछि निदाउन मन लाग्ने भएकोले ‘भाते निद्रा’ भन्ने चलन हाम्रो समाजमा रहिआएको छ ।

गर्मी मौसममा राति सुत्नुअघि नुहाएर सुत्ने गरेमा राम्रो निद्रा लाग्छ । ननुहाए पनि हात–खुट्टा धोएर सुतेमा निद्रा पर्छ । यसै गरी जाडो मौसममा सुत्नुअघि मनतातो पानीले नुहाउने वा हात–खुट्टा धुने गर्दा निदाउन सजिलो हुन्छ ।

यौनसम्पर्क गरेपछि मीठो निद्रा पर्दछ । यौनसम्पर्क गर्दा शरीरभित्रका हरमोन्सहरु सक्रिय हुने र यौनक्रियाको क्रममा शरीरलाई केही परिश्रम पनि पर्ने हुनाले सामान्य थकाइ लाग्छ, त्यसैले यौनसम्पर्कपछि स्त्री–पुरुष दुवै अक्सर मस्तसँग निदाउँछन्, जो स्वभाविक हो । यौन र निद्राबीच गहिरो सम्बन्ध छ । निद्रा राम्रो भएको मानिसको यौन जीवन पनि सन्तुष्ट हुन्छ भने यौन जीवन सन्तुष्ट भएको मानिसको निद्रा पनि राम्रो हुन्छ ।

पौडी, दौड, साइकल, फुटबल, भलिबल, बास्केटबल आदिजस्ता शरीरलाई थकाउने खेल नियमितरुपमा खेल्नेहरुलाई अनिद्राको समस्या सामान्यतया पर्दैन । उनीहरुलाई समेत राति निद्रा नपर्ने समस्या छ भने त्यो निकै गम्भीर समस्या हो, तसर्थ तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ ।

सुत्नुअघि केही पढ्ने बानी पनि लाभदायक हुन्छ । यसले अध्ययनशीलता बढाउँछ भने पढ्दापढ्दै निद्रा लाग्ने हुनाले निदाउन सहज हुन्छ । तर सुत्नुअघि डरलाग्दा, अत्यधिक कौतुकपूर्ण (सस्पेन्स थ्रिलर), वियोगान्त आदि विषयका सामग्री पढ्नुहुँदैन । त्यस्ता विषय पढ्दा मन त्यसमै अल्झिएर निद्रा भाग्छ ।

तर राति मोबाइल, ल्यापटप, टिभी आदि विद्युतीय उपकरणमा समय बिताउने मानिसहरुलाई भने अनिद्राको समस्या हुन्छ । त्यसैले यस्ता उपकरणहरु साँझ परेपछि अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्नुपर्दछ ।

सुत्ने बेलामा सानो आवाजमा सुमधुर गीत, संगीत, धुन सुन्ने गर्दा पनि निदाउन सजिलो हुन्छ । तर होहल्ला हुने खालका गीत, संगीत भने निद्राका शत्रु हुन् ।

अत्यधिक थकाइ लागेको छ भने पनि राति निद्रा पर्दैन । अक्सर लामो यात्राले थाकेर निद्रा नपर्न सक्छ । तर शरीरले थेग्न सक्ने जति मात्र थकाइ लागेको छ भने राम्रो निद्रा पर्दछ ।

(श्रीरामसिंह बस्नेत, साधना हेल्थ फागुन २०७९ बाट साभार)