दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडानम्बर ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँबायाँ भूकम्पपछि बनेका दुईतले जस्ताको छाना भएका चिटिक्कको यो टोलका अधिकांश घरहरू भने खाली छन् ।
झन्डै ३६ घरधुरी रहेको घिमिरे टोलका २२ घर खाली रहेको स्थानीय सीता सुवेदीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त यो टोलका सबै घरहरू पुनर्निर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सीताको भनाइ छ ।
खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौंमै स्थायी रूपमा बसोबास रहेको र देवालीमा भने गाउँमा फर्कने गरेको स्थानीयको भनाइ छ । कोहीकोही छिमेकी भने दशैंतिहारमा समेत गाउँ फर्कने गरेको स्थानीय बताउँछन् ।
६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरहरू भरिभराउ नै थिए । केही द्वन्द्वका कारण र केही भूकम्पका कारण विस्थापित बने पनि अधिकांश भने पानीको पिरलोले विस्थापित बन्नुपरेको सीता सुवेदी बताउनुहुन्छ । ‘यो टोलमा पानीका लागि एक बिहानै पारेर हिलेपानी संस्कृत विद्यालय भएको टोलमा जानुपर्छ’, सीताले भन्नुभयो– ‘त्यही पिरलोले पनि सहरमा छोराछोरी स्थापित भएपछि परिवारका ज्येष्ठ सदस्यहरूले समेत गाउँ छोडेर जानुभयो ।’
घिमिरे टोलमा भूकम्पपछि बनेका दुईकोठे अधिकांश घरमा अहिले ताला लाग्ने गरेका छन् । घरवरपर सिस्नो र विभिन्न झारहरू पलाएर करेसा र आँगन छोपेका छन् । ‘ताला लागेका सुनसान घरहरू देख्दा र पानीको अभाव खेप्नुपर्दा हामीलाई पनि विरक्त लाग्ने गर्छ’, स्थानीय राजकुमार कार्कीले भन्नुभयो– ‘तर जाऊँ पनि कहाँ ? समस्या खेपेरै भए पनि गाउँमै बस्नुको विकल्पै छैन ।’
हिलेपानीको घिमिरे टोलमा विगतदेखि नै केही उब्जनी नहुने र पानीको सधंै समस्या खेप्नुपर्ने भएकैले मानिसहरू बिरक्तिएर बसाइँ सर्न बाध्य हुने गरेको स्थानीय बताउँछन् । ‘यो टोलमा पानीको अभावका कारण जमिन नै सुख्खा छ, गहत र झुसेतीलबाहेक अरू चिज उत्पादन नै हँुदैन’ –सीता सुवेदीले भन्नुभयो । पिउने पानी र अन्य घरधन्दाका लागि ठूलो पँधेरो पुगेर पानी ल्याउँदा एक घण्टै बित्ने सीताको भनाइ छ ।
गाउँमा सडक र बिजुलीको पहुँच पुगेकाले स्थानीय गाउँपालिकाले पहल गरेर पानीको समस्या समाधान गरिदिने हो भने गाउँबाट बसाइँ सरेका अधिकांश छिमेकी फेरि गाउँमै फर्कने सीता बताउनुहुन्छ । ‘हामी त एक दिन यो गाउँ फेरि पहिलेकै जस्तो भरिभराउ हुन्छ, सबै छिमेकी फर्कनुहुन्छ भन्ने अपेक्षामै बाँचिरहेका छौं’ –सीताले भन्नुभयो ।











प्रतिक्रिया