१७ दिनपछि फोहोर उठाउन शुरू- कामपाले मात्रै होइन सबै मन्त्रालय र निकायले सर्वोच्चको आदेश मान्नुपर्छ : मेयर साह

फोहोर आजसम्म उठिसक्ने

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वोच्चको आदेश प्राप्त भएको दुई दिनमै फोहोर संकलन र ढुवानी गर्न शुरू गरेको छ । कामपाले शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर उठाउन रोक लगाएको १७ दिनपछि फोहोर उठाउन शुरू गरेको हो ।

कामपाले आइतबार सर्वोच्च अदालतको आदेश प्राप्त गरेको थियो । आदेश पाएलगत्तै प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारीले छलफल शुरू गर्नुभएको थियो । लगत्तै मेयर साहले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएर सर्वोच्चको आदेश पालना गर्दै फोहोर उठाउने निर्णय गरेको जानकारी गराउनुभएको थियो ।

मेयर साहले लेख्नुभएको छ– ‘सिंहदरबारसमेतको फोहोरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहोरमैला नउठेको विषय अदालतमा प्रवेश पाउनु र सर्वोच्च अदालतबाट फोहोरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि हुन्छ । काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित विषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको विषयका रूपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति आभार व्यक्त गर्दछौं ।’

मेयर साहले अदालतको फैसला, आदेश र निर्देशनहरू कामपाले मात्रै होइन संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ भन्दै प्रतिक्रिया जनाउनुभएको छ । उहाँले लेख्नुभएको छ– ‘वागमती, विष्णुमती र मनोहरा तथा यिनका सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्नेसम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश पालना नगरेको आरोप छ ।’

‘स्वास्थ्य मन्त्रालयको हकमा सो मन्त्रालयको भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउनेसम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश हेर्न, तीनकुने जग्गा अधिग्रहण तथा मुआब्जासम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेशलगायत आम महानगरबासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारी बोध गर्न जरुरी छ । अन्यथा नागरिकको घरआँगन र सिंहदरबारको पटाङ्गिनीबीचको विभेदलाई वैधानिक रूपमा नै स्विकारेको अर्थ लाग्ने देखिन्छ’ –मेयर साहले लेख्नुभएको छ ।

उहाँले संविधान र प्रचलित कानुनले परिकल्पना गरेबमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्य रूपमा समन्वय, सहकार्य गरी सहअस्तित्वको आधारमा नागरिकका समस्याको यथाशीघ्र समाधान गर्नुपर्ने कुरा दृढताका साथ व्यक्त गर्न चाहन्छौं भन्नुभएको छ ।

मेयर साहले स्टाटर पोस्ट गर्नासाथ तीनवटै निकायको फोहोर उठाउन शुरू भएको थियो । कामपाले आदेश पाएको तीन दिनमा फोहोर नउठाए कानुनी कारबाही हुने त्रासले कामपाले फोहोर उठाउन थालेको हो । मेयर बालेन्द्र साहले चैत २४ गतेबाट शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाउन बन्द गर्ने निर्णय गर्नुभएको थियो ।

सर्वोच्च अदालतले शुक्रबार तीन दिनभित्र फोहोर संकलन गरेर विसर्जन गर्न आदेश दिएको थियो । न्यायाधीश प्रकाशमानसिंह राउतले ल्यान्डफिल साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गम्भीर ध्यानाकर्षण गराएको थियो ।

सर्वोच्चको आदेशमा संविधानको धारा ३० को उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संवैधानिक प्रावधान रहने उल्लेख छ । सोही कारणले कामपाले फोहोर विसर्जन गर्दिन भन्न पाइँदैन ।

फोहोर आजसम्म उठिसक्ने

काठमाडौं महानगरपालिकाको निर्देशनपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर उठाउन शुरू भएको छ । परिवर्तन सेवा प्रालिले सोमबार अबेर पाँच सवारीसाधनको सहयोगमा फोहोर विसर्जन गरेको छ ।

परिवर्तन सेवा प्रालिका प्रमुख व्यवस्थापक एर्व फोहोरमैला व्यवस्थापक संघका महासचिव मित्रप्रसाद घिमिरेले कमपाको निर्देशनलगत्तै सिंहदरबारको फोहोर उठाउन शुरू गरेको जानकारी दिनुभयो । सो संस्थाले राती १० बजेसम्म सबै सिंहदरबारको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरेको थियो । १७ दिनदेखि सिंहदरबार परिसरमा २० टन फोहोर थुप्रिएको थियो । सो संस्थाले आज मंगलबार दिउँसोसम्ममा राष्ट्रपति निवास शीतल निवासको फोहोर विसर्जन गरिसक्नेछ । कामपा वातावरण व्यवस्थापन विभागमा जिम्मेवारीमा रहेको बालुवाटरस्थित प्रधानमन्त्री निवासको फोहोर आजसम्ममा विसर्जन भइसक्ने विभागले जनाएको छ ।

१७ दिनदेखि शीतलनिवासमा करिब २५ र वालुवाटारमा करिब २० टन फोहोर थुप्रिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले आजसम्म तीनवटै निकायको फोहोर विसर्जन भइसक्ने जानकारी दिनुभयो ।