काठमाडौं । शाख १० मा भएको उपनिर्वाचनमा नयाँ आशासहितको मत (ब्यालेट) विद्रोहले पुराना राजनीतिक दलहरुलाई झापड हानेको छ।
प्रजातन्त्रप्राप्ति पछिको चुनावी इतिहासमा तनहुँ कांग्रेसको किल्लाकै रुपमा परिचित जिल्ला हो। तर यसपटकको उपनिर्वाचनमा तनहुँ–१ मा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसको गढ भत्काएको छ।

उपनिर्वाचनको संघारमा कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्ले तनहुँ १ बाट भारी मतान्तरले विजयी हुनुभएको छ। त्यसैगरी चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले अग्रता लिइरहनुभएको छ।
गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएको सो क्षेत्र पौडेल राष्ट्रपति भएपछि खाली भएको थियो। ६३ हजार ७ सय ५७ मत खसेको यो क्षेत्रमा ९ दलले उम्मेदवारी दिएका थिए।
कांग्रेसका नेता भट्टराइले सो क्षेत्रमा खानेपानीका ६७ योजना पु¥याएर नागरिकलाई पानीको हाहाकार मेटाएको दाबी गर्दै आउनुभएको थियो । यद्यपि, चुनावी माहोलमा विकासे योजनाले काम नगरेको तनहुँका स्थानीय एवं नागरिक समाजका अगुवा शोभा विमलीले बताउनुभयो ।
‘यो उपनिर्वाचनमा पुराना दलका र गठबन्धनको संस्कृतिका कारण पनि मतदाताले पुरानालाई छाडेर नयाँप्रति आशा गरेको पाइएको छ’, उहाँले नेपालसमाचारपत्रसँग भन्नुभयो– ‘विगतमा गरेका विकासे योजना भन्दा पनि तत्काल मतदातालाई राहत पुग्नेगरी नयाँ नेताहरूले चलाएको अभियानले निर्वाचनमा फरक परिणाम ल्याएको हो । तर, जनताको त्यो अपेक्षा पूरा गर्दै मतको भारी जोगाउन चुनौती पनि उत्तिकै छ ।’ स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचनमा कांग्रेस र माओवादीले बढी मत ल्याएको यो क्षेत्रमा सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दल कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जसपासहितका दलहरूले समर्थन गरे पनि कांग्रेस नेता भट्टराईलाई मतदाताले कम विश्वास गरेको पाइएको छ । एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई त मतदाताले झनै नराम्रोसँग झापड हानेका छन् । खनाल गत निर्वाचनमा काठमाडौं ६ बाट हारेर उपनिर्वाचन जित्नका लागि तनहुँ जानुभएको थियो । उहाँलाई कांग्रेसको विद्रोही समूह पूर्व गृहमन्त्री गोविन्दराज जोशीलगायतले सहयोग गरेको थियो । यसपटक वाग्लेको काम हेर्ने भन्दै कांग्रेस एमाले दुवै दलका कार्यकर्तासमेतले वाग्लेलाई मतदान गरेको पाइएको छ ।
कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले गोविन्द भट्टराईको मत काट्दा पार्टीको मत जोगाउन सके चुनाव जित्ने एमालेको विश्लेषण थियो । तर, वाग्लेले कांग्रेसको मात्र होइन, माओवादी, जोशी समूह र एमालेको मतसमेत काटेको एमालेका नेताहरू बताउँछन् ।
भट्टराईले जित्दा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) ले जितेको महसुस हुने भएकाले पनि एमालेले रास्वपालाई नै मत दिएको नेताहरूले स्वीकार गरेका छन् । एमालेका एक नेताले नेपाल समाचारपत्रसँग भने– ‘एमाले छाडेर एकीकृत समाजवादीमा लागेका किसानलाई हराउन पनि हाम्रा कार्यकर्ताले वाग्लेलाई भोट हालेको पाइयो । कांग्रेसले जिते किसानले जस लिने भएकाले पनि एमालेले हार्ने देखेपछि साथिहरूले वाग्लेलाई सहयोग गरेको देखिन्छ ।’ यसले कांग्रेसका कार्यकर्ताले मात्र हैन एमालेका नेता कार्यकर्ताले समेत आफ्ना उम्मेदवारलाई धोका दिएको प्रष्ट भएको छ ।
त्यस्तै, चितवन क्षेत्रनम्बर–२ मा गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतका साथ विजयी रास्वपाका सभापति रवि लामिछानेको जित निश्चितजस्तै छ । मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट ४९ हजार मत लिएर गृहमन्त्रीसमेत भइसकेका लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद र मन्त्रीको पद खारेज गरेसँगै चितवन– २ खाली थियो । उपनिर्वाचनमा पुनः लामिछाने नै उम्मेदवार बनेर चितवनमा राम्रो जनलहर बटुल्नुभएको छ । उहाँलाई कांग्रेसका केही विद्रोही र एमालेका केही नेता कार्यकर्ताले समेत सहयोग गरेको स्थानीयले बताएका छन् । चितवन–२ मा ८० हजारभन्दा बढी मतदान भएको छ भने १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
त्यसै गरी बारा–२ मा पनि सत्ता गठबनधका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले टक्कर दिईरहनुभएको छ । त्यहाँ एमालेको तर्फबाट पुरुषोत्तम पौडेल उम्मेदवार हुनुहुन्छ भने रास्वपाका रमेश खरेल उम्मेदवार बन्नुभएको थियो । गत निर्वाचनमा जसपाका तत्कालीन नेता वर्तमान उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग झिनो मतले पराजित कुशवाहा माओवादी केन्द्र छाडेर उपनिर्वाचनमा जनमतबाट उम्मेदवार बन्नुभएको हो । यहाँ खसेको कुल ६८ हजार ८ सय ८७ मत १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवारलाई बाँडिने भए पनि चार उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ । मत गणानाको पूरै परिणाम सार्वजनिक हुन मंगलबारसम्म लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । हालसम्मको मत परिणामले नयाँप्रति जनताको आशा बढेको र पुराना दलहरूप्रतिको निराशा पोखिएको प्रष्ट पारेको विश्लेषकहरू बताउँछन् । ब्यालेट विद्रोहको संकेत स्थानीय तह निर्वाचनमै देखिए पनि ठूला भनिएका दलहरू नसच्चिदा उनीहरूलाई संघीय निर्वाचनमा र उपनिर्वाचनसम्म जनताले तिरस्कार गर्ने अवस्थामा पुगेको विश्लेषक चिरञ्जीवी अर्यालले बताउनुभयो । पुराना दलहरूप्रतिको यो निराशालाई आशामा बदल्न नयाँ दल रास्वपालाई पनि उत्तिकै चुनौती रहेको उहाँको भनाइ छ ।
ठूला दलप्रति जनचासो घट्यो

यसैबीच सोमबार बसेको संसदीय दलको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनचासो कम भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्ता गठबन्धनका प्रमुख नेता देउवाले ठूला र पुराना पार्टीप्रति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याउनुभएको कांग्रेस नेताहरूले बताएका छन् ।
कांग्रेसले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्नका लागि संसदीय दलको बोलाएको बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राख्ने क्रममा देउवाले उपनिर्वाचनबारे टिप्पणी गर्दै भन्नुभएको थियो– ‘उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो महसुस भएको छ । यस मानेमा पार्टीलाई अझ सुधारेर जानुपर्ने आवश्यक्ता छ । त्यो सँगै कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ र जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ । त्यसतिर सबै सांसदहरू लाग्नुपर्नेछ ।’











प्रतिक्रिया