जनादेशको शिरोपर गर्दै अब्बल बन्ने प्रयास गर्नेछु- गाेविन्द भट्टराई 

0
Shares

काठमाडौं ।

 नेपाली कांग्रेसकाे तर्फबाट उपनिर्वाचनमा तनहुँ १ मा उम्मेदवार बन्नुभएका नेता  गोविन्द भट्टराईले जनादेशलाई शिरोपर गर्दै अब्बल बन्न  प्रयास गर्ने बताउनुभएको छ । २० हजार मत गन्न बाँकी  रहँदै  फेसबुक पेजमा लामाे स्टाटसमार्फत उहाँले  तनहुँ १ का आम मतदातालाई ध्न्यबाद दिनुभएको हो । चुनावी परिणाम आफ्नो पक्षमा नआउने विश्वासका साथ भट्टराईले आफूलाई अब्बल प्रमाणित गर्न नसकेको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ- `चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईँको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुसी दिलाएको महसुस गरेँ ।´

उहाँलाई रास्वपाका स्वर्णिम वाग्लेले करिब ७ हजार बढीले लिड गरिसकेपछि जनताको अभिमतलाई सम्मानकासाथ आगामी राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनु भएको छ । उहाँ लेख्नुहुन्छ-  `हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईँको पीडाले मलाई छोइरह्यो । ठूला आदर्शभन्दा तपाईँको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बिपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईँसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईँसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

मलाई विश्वास गरेर सधैँ सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईँ सबैप्रति आभार प्रकट गर्दछु ।
चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईँको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुसी पनि दिलाएको महसुस गरेँ । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।

सायद, मेरो तपाईँप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईँको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईँहरूको जनादेशलाई शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’