राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

0
Shares

काठमाडौं ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघ (काप)बीच सोमबार एक अर्काको देशका ज्येष्ठ नागरिकका अनुभवको आदानप्रदान गरी ज्येष्ठ नागरिकहरूको हक अधिकार र सुरक्षित जीवनका लागि काम गर्ने विषयमा समझदारी भएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको कार्यालय ललितपुरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष छत्र बहादुर प्रधान र कापका अध्यक्ष एमयोङ योङ जुकबीच उक्त विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। सोही कार्यक्रममा काठमाडौँस्थित एजिङ नेपाल र कापबीच पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा एजिङ नेपालका अध्यक्ष कृष्ण एम गौतम र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घका अध्यक्ष एमयोङ योङ जुकले हस्ताक्षर गर्नुभएको थियो । समझदारी पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै महासङ्घका अध्यक्ष प्रधानले कोरियाको राम्रा अनुभवलाई सिको गरी ज्येष्ठ नागरिकको हक हितमा काम गर्न यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, कार्यक्रममा एजिङ नेपालका अध्यक्ष गौतमले ज्येष्ठ नागरिकको अनुभवबाट राज्यलाई नीति निर्माण गर्नमा सहयोग पुग्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनु अहिलेको आवश्यकता भएको र आफूहरूले त्यसअनुसार पैरवी गर्दै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासङ्घ (काप)का अध्यक्ष एमयोङ योङ जुकले नेपालको ज्येष्ठ नागरिकका क्षेत्रमा देखिएका उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै कोरिया र नेपालको एक अर्काको अनुभवका राम्रा पक्षलाई अनुसरण गर्दै ज्येष्ठ नागरिक हक अधिकार र सुरक्षा सम्बन्धी कार्यका लागि मिलेर अगाडि बढ्ने बताउनुभयो ।