फेरि शुरू भयो समाजवादी मोर्चा र कम्युनिस्ट एकताको गफ

0
Shares

काठमाडौं । नेपालका कम्युनिस्ट घटकहरूबीच समाजवादी केन्द्र बनाउँदै कम्युनिस्ट एकताको अभियान चलाउने गफ फेरि शुरू भएको छ । वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकताबद्ध बनाई समाजवादी केन्द्र बनाउने केही समयअघि नै उद्घोष गरेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चाँडै समाजवादी मोर्चा बनाउने दोहो¥याएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार नेकपा एसले आयोजना गरेको एक कार्यक्रममा सो पार्टीका अध्यक्ष माधव नेपालले चाँडै समाजवादी मोर्चा निर्माण गर्न सकिने बताउनुभयो । ‘हामी छिट्टै समाजवादी मोर्चा बनाएर जाने अभियानमा छौं’, उहाँले भन्नुभयो– ‘कम्युनिस्ट घटकहरुबीच समाजवादी मोर्चाबाट शुरू गरेर कार्यशैली, सोच र मन मिल्यो भने एउटै पार्टी बनाउन समेत सकिन्छ ।’ अध्यक्ष नेपालले कम्युनिस्ट घटकहरूलाई एकताबद्ध हुन आह्वान गर्दै जनताको भावना कम्युनिस्ट मिलून् भन्ने नै भएको बताउनुभयो । उहाँले जनभावनाअनुसार एउटै पार्टी बनाउनुपर्ने भएकाले समाजवादी मोर्चा बनाउन धेरै समय नलाग्ने दाबी गर्नुभयो । उहाँले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताका लागि सोच्न समेत अनुरोध गर्नुभयो ।

समाजवादी केन्द्र र एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा नेताहरुले वर्षौं अघिदेखि नै बहस चलाउँदै आए पनि त्यसको कार्यान्वायन भने हुन सकेको छैन । एकताभन्दा बढी फुटले कम्युनिस्ट पार्टीहरु खिइँदै गएका छन् । तत्कालीन समयमा एमाले र माओवादीबीचको एकता पछि निकै शक्तिशाली कम्युनिस्ट पार्टीका (नेकपा) बनेको थियो । तर, उक्त पार्टी फुटमा राम्रै भूमिका रहेका नेताहरूले नै समाजवादी मोर्चा र कम्युनिस्ट एकताको कुरा गरेर समय बर्बाद मात्रै गरिरहेका राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । नेताहरुले आफ्ना संस्थापकहरूको सम्झना वा दिवस विशेष कार्यक्रममा एकताको कुरा उठाए पनि व्यवहारतः फुटले बढी प्राथमिकता पाएको नेकपा समाजवादीका केन्द्रीय सदस्य योगेन्द्र बस्नेत (अमृत) ले बताउनुभयो ।

तर, आइतबार राष्ट्रिय सभागृहमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलन ः उपलब्धि, चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकता, संघर्ष, रूपान्तरण, विभाजन र पुनः नयाँ एकताको अभ्यासमा कम्युनिस्ट पार्टीहरू हुर्कने गरेको स्मरण गराउँदै पुनः एकताको सम्भावना बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘कम्युनिस्ट पार्टी अलगअलग हुँदा जनताले परिवर्तनको महसुस गर्न पाएनन् भनेर पार्टी एकता ग¥यौं । त्यहीअनुसार जनताले अत्यधिक मत दिए पठाए । तर, विचार, दृष्टिको र कार्यशैली मिलेन र कम्युनिस्ट पार्टी व्यक्तिको आदेशमा चलाउने कि सामूहिक नेतृत्व गर्ने भन्ने विषयमा विवाद शुरु भयो । हामीले त्यसलाई बचाउन सकेनौं ।’

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षितपूर्ण टिप्पणी गर्दै एउटा गिरोहको रूपमा अघि बढाउन खोजिएकाले नेकपा बचाउन नसकेको बताउनुभयो । देशको राष्ट्रिय एकता र सुदृढीकरणका लागि एकता आवश्यक भएको भन्दै उहाँले भन्नुभयो– ‘हामी कहाँबाट शुरू गरौं भन्ने विषयमा छलफल हुँदै छौं, हामी एकताकै पक्षमा छौं । विचारधारात्मक राजनीतिक छलफल गरेर केही दिनभित्रै समाजवादी मोर्चा बनाउने र नेकपातिर फर्कने यहीँबाट घोषणा गर्दछु ।’ पार्टी एकताका विषयमा माधव नेपाललगायत धेरै नेताहरूसँग छलफल गरिरहेको बताउनुभयो । दाहालले केही समयमै समाजवादी मोर्चा र पार्टी एकताको अभियान चलाएर एमालेभित्र पनि डिबेट शुरू गराउने अभियानमा लागेको समेत दाबी गर्नुभयो ।

समाजवादी केन्द्र बनाउने अभियानमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दल छन् । समाजवादी केन्द्र बनाउने उद्घोष गरेको एक वर्ष पुग्दासमेत प्रक्रिया भने अघि बढेको देखिँदैन् । उनीहरूले नेकपा एमालेबाहेक वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकताबद्ध बनाई समाजवादी केन्द्र बनाउने एक वर्ष अघि नै घोषणा गरेका थिए ।

बाबुराम भट्टराईले भने माओवादीमा हुँदा नै कांग्रेस र एमालेको विकल्पमा समाजवादी केन्द्र बनाउने घोषणा गर्नुभएको थियो । नेकपा एकीकृत माओवादीबाट छुट्टिनुअघि २०७० साल फागुन २५ गते २०७० मा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा लेख लेखेर भट्टराईले बहस प्रारम्भ गर्नुभएको इतिहास छ । करिब ९ वर्ष दल दर्ता, विभिन्न दलसँग एकता र विभाजनको चरण पार गर्दैै उहाँले अहिले नेपाल समाजवादी पार्टी बनाउनुभएको छ । उहाँ अहिले पनि समाजवादी केन्द्र निर्माण गर्न बहस र छलफल गर्दै आउनुभएको छ । समाजवादी केन्द्र बनाउन विभिन्न दलले वार्ता समिति नै बनाएर छलफल अघि बढाइएको दाबी गरे पनि त्यसको ठोस निष्कर्ष भने निस्कन सकेको छैन । माओवादी केन्द्रले कृष्णबहादुर महरा नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ भने जसपामा राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनेको छ ।

त्यस्तै, एकीकृत समाजवादीले वेदुराम भुसालको नेतृत्वमा र नेसपाबाट गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेर छलफल चलाइरहेको नेताहरूले बताएका छन् । समाजवादी मोर्चा बनाउने अभियानअन्तर्गत व्यक्तिगत र सामूहिक छलफल निकै अघि बढिसकेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं वर्ता समितिका संयोजक कृष्णबहादुर महराले बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पछिल्लो केही समय सरकार गठन, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन र उपनिर्वाचन समेतले गर्दा यो विषय अलि ओझेलमा परेजस्तो देखिए पनि आधा दर्जन कम्युनिस्ट वामपन्थी दल र नेताहरूसँग समाजवादी समाजवादी केन्द्रका विषयमा छलफल भइसकेको छ ।’ अब त्यसलाई पूर्णता दिन पुनः छलफल शुरू हुने उहाँले बताउनुभयो ।

यद्यपि, फरक पृष्ठभूमिबाट जन्मिएका पार्टीहरू फेरि एउटै पार्टी बनाउने सम्भावना कम रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । पार्टीहरू कमजोर हुन थालेपछि मोर्चा वा एकताको कुरा गर्ने र बलियो बन्दै गएपछि पुनः आ–आफ्नो बाटोतिर लाग्न गरेकोे इतिहास साक्षी छ ।