भ्रष्टाचार छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन् : महासचिव विप्लव

0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन्। आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको बताएका हुन्। उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए । उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए ।

महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए। सत्तारूढ र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नभएको उनले बताए।

‘०६४-०६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो। नेपालका प्रायजसो ट्रेड युनियनहरू या संगठनहरू नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने बन्यो। त्यो विद्यार्थीहरूको दोष होइन पार्टीको दोष हो। विद्यार्थीहरूले त सिक्ने हो। नकारात्मक पनि सिक्ने हो। सकारात्मक पनि सिक्ने हो। सकारात्मक सिकेर बलिदानीतिर गएको भए त्यसरी नै विद्यार्थीहरू तयार हुन्थे। मैले आरोप लगाएको होइन नेपालका मान्छेहरू यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो,’ उनले भने।

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए। उनले आफ्नो पार्टी र संगठनहरूमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए।