वन सहकारी पनि अनियमितताको शिकार

0
Shares

काठमाडौं ।

नेपालमा सहकारी तथा लघुवित्तका विकृतिहरू बाहिर आएकै बेला बबरमहलस्थित वन प्राविधिक बचत तथा ऋण सहकारी समेत अनियमितताको शिकार बनेको छ । सहकारी ऐन नियम विपरीत न साधारण भेला भएको छ न नियमित बैठक बसेको छ ।
साधारण भेला भएको आफै हस्ताक्षर गरी सञ्चालकहरूले सहकारी विभागमा बुझाउने गरेका छन् । सहकारी ऐन नियम विपरीत बकस रिन्युएवल इनर्जी लिमिटेडको शेयर खरिद भनी व्यक्तिको नाममा शेयर खरिद गरिएको छ । उक्त कम्पनीमा लगानी गरिएको लाखौँ रकमको सहकारीलाई न व्याज प्राप्त भएको न मुनाफा जम्मा भएको छ ।

बकस रिन्युएवल इनर्जी लिमिटेडले सामान्य मान्यता विपरीत व्यक्तिलाई खुसी बनाउनको लागि कथित सञ्चालकको नामबाट व्यक्तिलाई लाभ दिइरहेको छ । यसरी व्यक्तिगत लाभको लागि उक्त रकम लगानी गरिएको देखिएको छ । शेयर धनी तथा बचतकर्ताहरू समयमै सजग नहुने हो भने उक्त रकम पनि हिनामिना हुने निश्चित जस्तै छ ।

बचतकर्ताहरूलाई ऋण लिँदा दिँदा सञ्चालकहरूको नजिकका व्यक्तिहरूलाई विना निर्णय तथा विना योजना मनपरी सीमा भन्दा ज्यादा ऋण उपलब्ध गराइएको छ । सञ्चालकहरूले आस्थाको आधारमा कर्मचारी परिचालन गर्ने र अपारदर्शी तरिकाले खर्च गर्ने गरेका जानकारी भएको छ ।