डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द

0
Shares

काठमाडौं ।

लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ । बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले भोली शुक्रबारबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो ।

पहिरो रोकथाम तथा सडक निर्माण कार्य अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नु पर्ने भएकोले शुक्रवार देखि जेठको पहिलो साता सम्म उक्त सडक बन्द गर्न लागिएका डुम्रे बेसीशहर चामे सडक योजना प्रमुख अच्युत विलास पन्तले जानकारी दिनु भयो ।

उहाँका अनुसार उक्त अवधिमा यात्रुबहाक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डी प्रसादगण डाईभर्सन बाटो प्रयोगमा ल्याइने छ भने मालबबाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लागाइने छ । बर्षातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरेपनि विगत केहि महिनादेखि सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो ।

सुख्खा पहिरोका कारण दैनिक जसो अवरुद्ध हुँदै आएको उदिपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ । पहिरोका कारण दैनिकजसो यातायात समेत अवरुद्ध हुने गरेको छ । बर्षातका बेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका बेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरीएको थियो । निर्वाचन पछि पनि पुनः केहि दिन यातायात बन्द गरी थप व्यवस्थीत बनाईएको थियो । हाल सवारी साधान आवात जावत गर्नका लागि सडक बनेपनि सुख्खा पहिरो खस्नेक्रम शुरु भएकोले दैनिक जसो यातायात अवरुद्ध हुँदै आएको छ ।

उदिपुरमा पहिरोले सडक भत्किएसंगै गत बर्षादेखिनै यात्रुहरुले सास्ती पाएका छन् । बैकल्पीक सडक प्रयोगमा आएपनि जिर्ण सडकका कारण यात्रुहरुले निकै सास्ती भोग्नुपरेको छ । पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेसीशहर सहित हिमाली जिल्ला मनाङ सम्मको यातायात प्रभावित हुँदै आएको छ ।