२१ विधाको विन्ध्यवासिनी अवार्ड वैशाख २२ मा, बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मान

0
Shares

अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहान भन्ने मूल नाराका साथ हरेक वर्ष आयोजना हुँदै आइरहेको रमपम विन्ध्यवासिनी म्युजिक अवार्डलाई यस वर्ष थप चुस्त बनाउँदै आगामी वैशाख २२ गते राजधानीमा हुने भएको छ।

अवार्डलाई चुस्त र दुरुस्त रुप दिन यो वर्षको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ केवल २१ विधामा सम्पन्न हुने आयोजक संस्था विन्ध्यवासीनी फाउन्डेसनका सुवास रेग्मीले जानकारी गराए। उनका अनुसार अवार्ड आयोजनको तयारी अघि बढिसकेको छ भने हालै मात्र २१ विधका उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ।

तेह्रौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ मा संगीतकार एवम् संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गर्ने भएको छ। त्यस्तै, गायिका सुक्मित गुरुङलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९, गायक भविन ढुगानालाई २५ हजारसहित प्रेमध्वज संगीत रत्न सम्मान २०७९ र सञ्चारकर्मी नरेश भद्मराईलाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७९ बाट सम्मान गरिने भएको छ। अवार्डको सल्लाहकार समिति तथा विभिन्न विधाको सिफारिस समिति संयोजकको सिफारिसबमोजित यी सम्मान प्रदान गरिने निर्णय राजधानीमा केही समयअघि आयोजित भेलाले गरेको थियो।

यस वर्षदेखि विन्ध्यवासिनी म्युजिक अवार्डमा झलकमान लोक संगीत सम्मानसमेत थपिने भएको छ। नेपाली लोक संगीत र दोहोरी गीत गायनमा तीन दशक लामो योगदान दिएर लोक संगीतलाई योगदान दिएका गायक बद्री पंगेनीलाई झलकमान लोकसंगीत सम्मानबाट नगद २५ हजार रुपियाँसहित सम्मान गरिने आयोजक र सल्लाहकारले निर्णय गरेका छन्। रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८ लाई अघिल्ला संस्करणझैं यस वर्ष पनि मुक्तिनाथ विकास बैंकले प्रस्तुत गर्नेछ।