प्रधानमन्त्री प्रचण्डद्वारा काठमाडौं तराई,मधेस द्रुतमार्गको अनुगमन


मकवानपुर । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ स्थित क्षेत्रको आजस्थलगत अनुगमन गर्नुभएको छ ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमले निर्माण कार्यमा केही ढिलाइ हुन गएको भए पनि प्रगति विवरण सन्तोषजनक नै रहेको बताउँदै उक्त निर्माणको कामले अब तीव्रता पाउने बताउनुभयो । उहाँले द्रुतमार्गका निम्ति आवश्यक पर्ने ऐलानी जग्गा र अन्य विभिन्न विषयमाथि आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय लिई निर्माणको कार्यमा सहजता प्रदान गरिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानको कदरस्वरुप नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको स्मरण गर्नुहुँदै आफ्नै कार्यकालमा शिलान्यास भएको र आफैँले दु्रतमार्गको उद्घाटन पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेशका मन्त्रीहरु र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।