राहदानीका लागि जुन दिन गयो त्यही दिन सेवा

तीन महिनामा ६,३३८ लाई राहदानी

0
Shares

काभ्रे। 

तीन महिना अघि राहदानीका लागि रातको १२ बजे देखि लाइन बस्दा समेत ५÷६ महिनासम्म राहदानी बनाउन नसकेका सेवाग्राहीहरूले अब जुन दिन गयो त्यही दिन सहज रुपमा सेवा प्राप्त गर्न थालेका छन् ।

‘एकै दिन ९ सय नागरिकले राहदानीका लागि टोकन र टाइम प्रदान गरिएको थियो’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘सार्वजनिक बिदा, शनिबार तथा बिहान ६ बजे देखि राति ११ बजेसम्म नियमित सेवा प्रदान गरी जनशक्ति र पूर्वाधार समेत थप गरेर नयाँ प्रणाली लागु गरेको दुई महिनामा जुन दिन सेवाग्राही सेवा लिन आयो सोही दिन सेवा प्रदान गर्न सहज भएको हो ।’ नयाँ प्रणाली लागु भए सँगै जिल्ला प्रशासन कार्यालय आफैले सेवाग्राहीको फाराम निःशुल्क भरिदिएर सहज रुपमा सेवा प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भयो । प्रशासनले अतिरिक्त काम गर्ने कर्मचारीहरुलाई कुनै सुविधा प्रदान गर्न सकेको छैन ।

२०७९ फागुन ५ गते देखि जिल्ला प्रशासन कार्यालयले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि टाइम र टोकन वितरण गरेको थियो । ‘शुरुका दिनमा एकै दिन ९ सयले टोकन लिएका कारण १० दिन पछि सेवा दिन सकिएको थियो तर पनि सेवाग्राही तोकिएको समयमा सेवा लिन पाउँदा खुशी देखिन्थे’–सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भन्नुभयो–‘नयाँ प्रणालीले लामो समय देखि राहदानीका लागि कुरेर बसेका सेवाग्राहिहरुलाई सहज बनायो । अहिले हरेक दिन नागरिकहरुले सेवा लिन सक्ने अवस्था बनेको छ ।’ दुई महिनासम्म निरन्तर यो प्रणाली अन्तर्गत दैनिक १ सय २० भन्दा धेरै सेवाग्राहीको तस्बिर खिचाउँदा समेत राहदानी लिनेहरुको लाइन कायमै छ । दुई महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ४ हजार ८ सय ५९ जनालाई राहदानी वितरण गरिएको छ । माघ महिनामा १ हजार ४ सय ७९ जनाले राहदानी लिएका थिए । तीन महिनाको अवधिमा ६ हजार ३ सय ३८ जनाले राहदानी प्राप्त गरेका छन् ।

नयाँ प्रणाली लागु नहुँदासम्म राहदानीका लागि अनलाइन फाराम भर्न ५ हजार रुपैयाँसम्म साईबरलाई रकम तिरेको सेवाग्राहीको गुनासो थियो । रकम तिरेर पनि ६ महिनासम्म पालो नआएको दुखेसो सेवाग्राहीहरूले गरे पछि जिल्ला प्रशासन कार्यालयले आवश्यक जनशक्ति थप गरी नयाँ प्रणाली लागु गरेर निःशुल्क फाराम भर्ने व्यवस्था सहित राहदानीका लागि तस्बिर खिचाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । यस अघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक स्थापना गरी नागरिकहरूलाई झन्झटिलो प्रक्रियाको अन्त्य गराउनु भएको थियो । राष्ट्रिय परिचयपत्रको चापलाई पनि जनशक्तिको थप व्यवस्थापन सँगै प्रशासनले सहज सेवा प्रदान गरिरहेको छ ।

नागरिकता लिनेहरुको भीड

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ र प्रतिलिपि लिनेहरुको सङ्ख्या उस्तै उस्तै देखिएको छ । पछिल्लो तीन महिना माघ, फागुन र चैत्र महिनाको तथ्याङ्कमा नयाँ नागरिकता लिनेहरुको सङ्ख्या २६३० रहेको छ भने प्रतिलिपि लिनेहरुको सङ्ख्या १९८१ रहेको छ । २०७९ माघ, फागुन र चैत्र तीन महिनामा २ हजार ६ सय ३० वटा नयाँ नागरिकता वितरण भएका छन् । माघ महिनामा ५ सय ४७ महिला र ५ सय ४३ पुरुष गरी १ हजार ९० जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने फागुन महिनामा ३ सय ७१ जना महिला र ३ सय ५७ जना पुरुष गरी ७ सय २८ जनाले मात्रै नयाँ नागरिकता लिएका छन् । चैत्र महिनामा ४ सय २२ जना महिला र ३ सय ९० पुरुष गरी ८ सय १२ जनाले नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले बताउनु भयो । नागरिकता प्रतिलिपि तीन महिनामा १ हजार ९ सय ८१ जनाले लिएका छन् । माघमा ६ सय १३, फागुनमा ७ सय २८ र चैत्र महिनामा ६ सय ४० जनाले प्रतिलिपि लिएका छन् । कार्यालयले पुरानो नागरिकता कम्प्युटरमा प्रविष्टि गरी निवेदन सूचीमा स्क्यान गरी तीन महिनाको अवधिमा ६ हजार ३ सय ३८ जनाको विवरण सूचिकृत गरेको छ । इलाका प्रशासन कार्यालय बनखुचौर महाभारतबाट नयाँ नागरिकता १ सय ९३ वटा वितरण गरिएको छ । प्रतिलिपिका लागि ७३ जनाले सिफारिस लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा तीन महिनाको अवधिमा १७ वटा मुद्दा दर्ता भएका छन् भने २५ वटा मुद्दाको फैसला भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भयो । यो अवधिमा ९८ वटा गुनासो र कारबाही सुनुवाइ भएको छ । मुद्दा फैसला संख्याका हिसावले अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै भएको प्रशासनले जानकारी दिएको छ । हातहतियार नवीकरण एकवटा, संघ संस्था दर्ता २० वटा, जनजाति तथा अन्य विभिन्न सिफारिसहरु ९० वटा गरिएको छ । ५३ वटा संघ संस्था नवीकरण भएका छन् । वैदेशिक रोजगारी क्षतिपूर्ति ३ वटा घटनाको ६ लाख ६ हजार ६ सय ८६, तीन वटा आगलागी घटनामा २९ हजार, सवारी दुर्घटनामा निधन भएका १७ जनालाई ८५ लाख रकम भुक्तानी भएको छ । तीन महिनाको अवधिमा राहदानी बापत १ करोड ४५ लाख ८१ हजार राजश्व सङ्कलन भएको छ । राष्ट्रिय परिचयपत्र पत्र अभिलेखीकरणका लागि ६६४४ जनाले फोटो खिचाएका छन् । तीन महिनाको आपराधिक घटना ७४ वटामा ५८ जना अभियुक्त पक्राउ परेका छन् ।