द्रुतमार्गको म्याद थप गर्न आग्रह

0
Shares

काठमाडौं । काठमाडौं÷तराई मधेस द्रुतमार्ग आयोजनाको निर्माण अवधिको म्याद थप हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको उक्त द्रुतमार्ग २०८१ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाएको उक्त आयोजना विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमण, आयोजना प्रवेश गर्ने ललितपुरको खोकनाको जग्गा विवादका कारण तोकिएको मितिमा सम्पन्न गर्न कठिनाइ भएपछि निर्माणको ठेक्का लिएको नेपाली सेनाको तराई मधेस द्रुतमार्ग सडक आयोजनाले म्याद थपका लागि सरकारलाई आग्रह गरेको छ ।

सडक निर्माणका क्रममा विभिन्न अवरोध आउनुका साथै उक्त आयोजनाको ४ वटा प्याकेजको अझै ठेक्का भइनसकेका कारण पनि आयोजना तोकिएको मितिमा सम्पन्न नहुने भएपछि म्याद थपका लागि सरकारलाई आग्रह गरेपछि सरकारले म्याद थपको प्रक्रिया अगाडि बढाएको छ ।

आयोजनाको काम तीव्र गतिमा भइरहेको भए पनि निर्माण शुरू भएको स्थानको भौतिक प्रगति २२ प्रतिशत मात्रै भएको छ । आयोजानमा विभिन्न ठाउँमा शुरूङ बनाउनुपर्ने र अग्लाअग्ला पुलहरू निर्माण गर्नुपर्ने भएकाले पनि आयोजना तोकिएको मितिमा सम्पन्न गर्न कठिनाइ भएको नेपाली सेनाको तराई मधेश द्रुतमार्ग सडक आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न आयोजनाले अधिकतम प्रयास गरेको र अन्य क्षेत्रको विवाद मिले पनि काठमाडौंको प्रवेश बिन्दुको रूपमा रहेको खोकनामा जग्गा विवाद अझै मिल्न नसकेकाले पनि कामलाई बाधा परेको जनाएको छ । सरकारले कोरोना संक्रमणका कारण राष्ट्रिय गौरवका आयोजना समयमा नै सम्पन्न नभएको भन्दै यसअघि केही आयोजनाको म्याद थप गरेको भए पनि उक्त सडक आयोेजनाको भने म्याद थप गरेको थिएन ।

राजधानीबाट तराई जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा उक्त सडक आयोजनालाई लिइएको छ । तराईसँग काठमाडांैलाई नजिकबाट जोड्ने हिसावले उक्त आयोजनाको निर्माण गर्ने घोषणा गरेसँगै सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

७२ दशमलव ५ किलोमिटर लामो उक्त द्रुतमार्ग निर्माणका लागि १ खर्व ७ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि ठेक्का लाग्न बाँकी रहेका ४ वटा प्याकेजको ठेक्का यही आर्थिक वर्षको अन्त्यसम्म लागिसक्ने सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । आयोजना समयमा नै सम्पन्न नहुने भएपछि लागत खर्च समेत बढ्ने अनुमान सरकारले गरेको छ । ‘उक्त आयोजनालाई सरकारले प्राथमिकतामा राखेर आयोजनाले मागेको रकम उपलब्ध गराउँदै आएको छ । रकमको कारण आयोजना प्रभावित बनेको छैन’ –प्रवक्ता भण्डारीले बताउनुभयो ।

सरकारी प्राथमिकतामा परेको उक्त आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मंगलबार द्रुतमार्ग आयोजनाको स्थलगत निरीक्षण गर्नुहुने भएको छ । प्रधानमन्त्रीका साथ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मालगायतको टोली आयोजना निर्माण स्थल पुगेर हाल भइरहेको प्रगतिको बारेमा जानकारी लिने भएको छ । टोलीलाई आयोजनाले हालसम्म भएको कामको प्रगतीको बारेमा जानकारी गराउनुका साथै आयोजना निर्माणमा देखिएको समस्याको बारेमा समेत जानकारी गराउनुभएको छ ।