मालवाहक सवारी साधनलाई तौल पुल

ट्रिपर व्यवसायीले भने– ‘हाम्रा सवारी जोख्दैनौ’

0
Shares

काभ्रे।

 जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गृह मन्त्रालयको परिपत्रको हवाला दिँदै मालवाहक सवारी साधनहरुलाई आगामी वैशाख ७ गते बिहान १० बजेदेखि जिल्लाका तीन स्थानमा नीजि क्षेत्रले स्थापना गरेको तौल पुलमा अनिवार्य रुपमा भारवहन गरी लोड सिट लिन निर्देशन दिएको छ ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले कानुनले दिएको अधिकार क्षेत्र भित्र रहेर ढुवानी गर्ने भएकाले तौल पुलमा टिपरहरू तौलेर नबस्ने अडान लिनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालय, स्थानीय प्रशासन तथा समन्वय शाखाको च.न.५९६, २०७९ फागुन २१ गतेको पत्रबाट मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न गराउन लेखी आएको सम्बन्धमा जिल्लामा रहेका तीन वटा तौल पुल (पनौती, पाँचखाल र नमोबुद्ध) मा मालवाहक सवारी साधनहरु २०८० वैशाख ७ गते बिहान १० बजेबाट अनिवार्य रुपमा तौल पुलमा भारवहन गरी लोड सिट लिएको हुनु पर्ने निर्णय गरेको छ । साथै तौल पुलमा मालवाहक सवारी साधन भारवहन गराउँदा ट्राफिक जाम नहुने व्यवस्था तौल पुल सञ्चालकले मिलाउने र निर्देशिका उल्लेख भए अनुसार भारवहन नियमन ट्राफिक प्रहरीले गर्ने उल्लेख गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, पार्टी प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, ब्यवसायीहरुको सहभागिता रहेको थियो । सोही बैठकमा अरनिको राजमार्ग जीर्ण रहेर मान्छे सहज हिँड्न समेत असहज भएको, रातिको समयमा मात्रै टिपर चल्ने हुँदा निश्चित अवधिमा मजदुरले निर्धारित स्थानमा सामान पुर्‍याउन नसक्ने भएकाले अव्यवहारिक भएको, सडक छेउमै भएकाले सडक जाम हुन गई अवरुद्ध समेत हुन सक्ने तर्फ ध्यान दिन अनुरोध गरिएको थियो ।

निजी क्षेत्रले सञ्चालन गरेको तौल पुल ब्यवसायीहरुको असहमतिका कारण केही वर्ष अघि नै सुरु भएको भए पनि सञ्चालनमा आउन सकेको थिएन । समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरी समेत परिवर्तन भएको मौका पारेर ब्यवसायीहरुले लाखौ रुपैयाँ खर्च गरेर स्थापना गरिएको तौल पुल सञ्चालनका लागि तीव्र लवङ्ग सहित दबाब दिँदै आएका थिए । तर पनि टिपर व्यवसायी संघको नीतिगत असहमतिका कारण तौल पुलमा टिपरहरू तौलिन सकिएको थिएन । पनौती नगरपालिकाले भने अघिल्लो आर्थिक वर्षमा नै तौल पुलका बारेमा बोलपत्र निकालेर प्रति टिपर एक सय रुपैयाँ र भ्याट असुल गर्न अनुमति दिएको थियो ।

‘यस अघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा नै सवारी साधनको विल बुकमा उल्लेख भएको साढे ७ घन मिटर भन्दा नबोक्न टिपर मजदुरहरुलाई निर्देशन दिई सकिएको छ’–बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘साढे ७ घनमिटर बोक्ने टिपरहरु तौल पुलमा तौलन जाँदैनन् । त्यस भन्दा धेरै बोकेर आउने टिपरहरू तौलनु पर्ने अवस्था भए तौलन निर्देशन दिएका छौँ ।’ टिपरको ढाला ३२ इन्च मात्रै भएकाले ढाला बराबरको सामान बोक्न पाउने कानुनी व्यवस्था उक्त बैठकले गरेकाले ढालासम्म सामान बोकेर आउने टिपरहरू तौल पुलमा नजान निर्देशन दिईसकेको खत्रीले बताउनु भयो । ‘बागमती टिपर व्यवसायी संघको संस्थागत निर्णय नै कानुन अनुसार गर्ने भन्ने छ’–अध्यक्ष खत्रीले भन्नुभयो–‘कानुन भन्दा बाहिर गएर हामी काम गर्दैनौँ । कानुन अनुसार भएका कामलाई फेरी तौल पुलमा गएर समयको बर्वादी नगर्न, एकै पटक छुट्ने सवारीको चापका कारण सडक जाम नगर्न, निश्चित समय भित्र पुग्ने पर्ने गन्तब्य तथा अव्यवहारिक अवस्थालाई ध्यान दिन मजदुरहरुलाई अनुरोध गरेका छौँ ।’

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले बैठकमा असहमति राख्दै टिपरहरू तौल पुलमा जान नसक्ने विषयमा ध्यानाकर्षण गर्दै प्रमुख जिल्ला अधिकारीलाई टिपरको बिल बुकको फोटो कपि समेत बुझाएको बताउनु भएको छ । सोही विषयलाई लिएर टिपर व्यवसायी संघले मङ्गलवार आकस्मिक बैठक बोलाएको छ ।