“राजनीतिलाई कमाऊ धन्दा बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ ”

0
Shares

भक्तपुर । 

प्रतिनिधि सभाका सांसद एवं नपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेपालका केही नेताहरुले राजनीतिलाई ठगि खाने पेसा बनाएर कमाऊ धन्दा गरेको आरोप लगाउनु भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा सम्पन्न ११ दिने ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ मा बोल्दै उहाँले जनताको सेवा गर्न सांसद भएर गएका नेताले कमाऊ धन्दा बनाएको बताउनु भएको हो ।

सांसद थापाले नेताहरुले उद्योग, कलकारखाना नखोल्ने तर त्यस्ता उद्योग, कलकारखानाहरुबाट मोटो रकम असुल्ने र रातारात धनी बनेर राजनीतिलाई कमाउधन्दा बनाउने राजनीतिक प्रवृत्तिको अन्त्य हुनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “मैले धेरै नेताहरु, सांसदहरु चिनेको छु, देखेको छु, कतिपय राजनीतिक नेताहरुले राजनीतिलाई समाज सेवा र जनहितमा नभई कमाऊ धन्दाको पेसा बनाएका छन्, कतिपय सांसद भएपछि रातारात कमाऊ धन्दामा लागेर करोडपति बनेका छन्, त्यस्ता नेताहरुलाई समाजमा नङ्ग्याउनु पर्छ ।”
सांसद थापाले मुलुकनै आर्थिक मन्दीको चपेटामा परेको समयमा आयोजना गरिएको महोत्सवले स्थानीयलाई राहत पुगेको बताउँदै नेपालीहरु जस्तो सुकै सङ्कटमा पनि आसेर बाँच्न जान्ने भएकाले उनीहरुको भावना माथि खेलाँची गर्न नहुने बताउनु भयो ।

महोत्सवमा ११ दिनमा विभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । वैशाख १ गते एकै दिन करिब ५० हजार, वैशाख २ गते एकै दिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महतले भन्नुभयो, “यो महोत्सव व्यापार गरेर नाफा बमाउनका लागि गरेका होइनौ, यो महोत्सवरमा सबै वर्गका उपभोक्ताको सहज पहुँच पुर्‍याएर दैनिक उपभोग्य सामानदेखि बिभिनन सामानहरु सस्तो र सुलभ रुपमा बिक्री गरेर सेवा गर्नुनै मूल उद्देश्य हो, त्यसैले यहाँ रहेका विभिन्न सामानका २०० वटा स्टलबाट बजारमा पाइने प्रत्येक सामानहरु २० देखि ५० प्रतिनशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनु र अवलोकनमा आएका मानिसलाई दैनिक विभिन्न चर्चित कलाकारहरुबाट प्रस्तुत गरिएका सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका छौँ ।”

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, विभिन्न ब्रान्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुँडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्रान्डका मोबाइल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरु रहेका थिए ।
यसवर्ष विभिन्न व्यक्तित्वहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान समेत गरिएको छ । महोत्सवमा भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका विभिन्न जिल्लाका उपभोक्ताहरुको आकर्षण दैनिक उपभोग्य सामाग्री, भाँडाकुँडा र लत्ताकपडामा रहेको छ ।

अध्यक्ष महतले भन्नुभयो, “बालबालिकाको आकर्षण विभिन्न मनोरञ्जनात्मक खेलहरुमा रह्यो, युवाहरुको आकर्षण दैनिक चर्चित कलाकारहरुको म्युजिकल एवं मनोरञ्जनात्मक कार्यक्रममा रह्यो । गृहिणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान र लत्रा कपडामा रहेको छ । महोत्सवले सबै वर्गका मानिसको आवश्यकतालाई एकै थलोबाट पूरा गर्न र बालबालिकादेखि सबै उमेरका व्यक्तिलाई फरक फरक मनोरञ्जन प्रदान गर्न महोत्सव सफल रह्यो ।”