राष्ट्रिय विभूति वीरभक्ति थापाले बाल्यकाल बिताएको हर्सिङडाँडामा छेलो प्रतियोगिता

0
Shares

लमजुङ। 

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ स्थित हर्सिङडाँडामा खुला छेलो प्रतियोगिता हुने भएको छ । राष्ट्रिय विभूति वीरभक्ति थापाले बालापनमा गाईबस्तु चराएको र छेलो हानेको हर्सिङडाँडामा छेलो प्रतियोगिता हुने भएको हो ।

वीरभक्ति थापा जन्मस्थल संरक्षण संवर्द्धन तथा विकास समितिको आयोजनमा वैशाख ६ गते हर्सिङडाँडामा छेलो, नृत्य र डोरी तान्ने प्रतियोगिता हुने भएको हो । छेलो प्रतियोगितामा प्रथम हुनेलाई पगरी लगाई नगद पाँच हजार प्रदान गरिने र दोस्रो हुनेलाई पगरी लगाई नगद तीन हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सोही दिन आमा समूहको सामूहिक नृत्य प्रतियोगिता पनि हुने भएको छ । नृत्य प्रतियोगितामा प्रथम हुने आमा समूहलाई नगद १० हजार, दोस्रो हुनेलाई नगद पाँच हजार र तेस्रो हुनेलाई नगद तीन हजार प्रदान गरिने छ ।

सोही अवसरमा मर्स्याङ्दी गाउँपालिका ३ को टोलस्तरीय पुरुष डोरी तान्ने प्रतियोगिता समेत हुने समितिका अध्यक्ष प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार र दोस्रोलाई नगद तिन हजार पुरस्कार प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

समुन्द्री सतहबाट दुई हजार दुई सय ८४ मिटर उचाइमा रहेको हर्सिङडाँडामा बेसीशहरदेखि खुँदी, ढंगै हुँदै पुग्न सकिन्छ । त्यहाँ पुगेपछि खुल्ला समथर भूभाग, चारैतिरको दृश्यावलोकन गर्न सकिने, नजिकै देखिने मनोरम हिमशृङखला यसको मुख्य आकर्षणहरू हुन् ।

विसं १८०२ मा खुदीको ढंगैबँेसीमा जन्मिएका वीरभक्ति थापाको हर्सिङडाँडामा छेलो हानेको ठाउँ, गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदान अहिले सम्म त्यहाँ रहेको वडा नं. ३ का वडा अध्यक्ष दूधमान तामाङले बताउनुभयो । अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने हर्सिङडाँडामा स्थानीय युवाहरुले ‘हर्सिङ कम्युनिटी क्याम्प साइट’ सञ्चालन समेत गरेका छन् ।