ठिमीको जात्रा वसन्तपुरमा

0
Shares

मध्यपुर, ठिमीमा हरेक वर्ष चैत्र मसान्तदेखि वैशाख २ गतेसम्म गरी तीन दिन बिस्काः जात्रा चल्ने गर्दछ। यसअन्तर्गत हुने थुप्रै जात्राका तस्वीर प्रदर्शनीमार्फत एकै पटक, एकै ठाउँमा बसेर सर्वसाधारणले हेर्न पाए।

फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको वसन्तपुरमा भएको बिस्काः जात्रासम्बन्धी फोटो प्रदर्शनी ठिमीको जात्रासँग जोड्ने पुल बनेको छ। दुई दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा संलग्न श्रेष्ठले एक दशकदेखि संग्रह गर्दै आएको बिस्काः जात्रासम्बन्धी ९० तस्वीर प्रदर्शनीको आकर्षण बन्ने पुग्यो। ठिमीको बिस्काः जात्राको स्वरुप, विशेषता, रौनकता, धार्मिक, संस्कृतिकप्रतिको आत्मियतालाई अरुले बुझून्, थाहा पाऊन् भनेर प्रदर्शनी आयोजना गरेको श्रेष्ठले बताए। श्रेष्ठले फोटोपत्रकारिता मार्फत समग्र ठिमीलाई चिनाएको नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बताए। यसले ठिमीको बिस्कादेखि सांस्कृतिक सम्पदा, अमूर्त संस्कृतिको प्रचारप्रसार गरी बाहय तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अवश्य सघाउने छु मेयर श्रेष्ठले प्रदर्शनीको शुभारम्भ गर्दै भने।

रत्नका तस्वीरहरु संस्कृति वैभवले सम्पन्न ठिमीलाई चियाउने आँखी झ्याल रहेका बताउँदै समितिका संयोजक रमेश प्रजापतिले तस्वीरका माध्यमबाट ठिमीको संस्कृतिको ज्ञान र रोमाञ्चकतालाई परिकल्पना गरेर स्वाद लिन सकिने बताए। ठिमीको गुँसि व्छयेकवनेगु जात्रा, रातीको जात्रा, वैष्णवी र सिद्धिकालीअन्तर्गतका खट जात्रा, सिन्दुर जात्रालगायत ठिमीको सांस्कृतिक जनजीवनलाई तस्वीरमा प्रतिविम्बित गरिएको छ। विश्व सम्पदा सूचीकृत वसन्तपुरमा घुम्न आउने स्वेदशी र तथा विदेशी पर्यटकहरुले प्रदर्शनीमा राखिएका रमाउँदै अवलोकन गरेका थिए।