विश्वको प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं

0
Shares

काठमाडौं । मुलुकभर फैलिएको वायु प्र्रदूषणले आम नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । विश्वका प्रदूषित शहरमध्ये पहिलो सूचीमा काठमाडौं शहर परेको छ ।

प्रदूषित शहरको पहिलो सूचीमा काठमाडौं परेपछि मुलुकभरका आन्तरिक उडान प्रायः ठप्प भएका छन् । अहिले वायु प्र्रदूषणका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

वायु प्रदूषणको अन्तर्राष्ट्रिय मापन निकाय आईक्यू एयरका अनुसार काठमाडौं उपत्यकाको एयर भिजुअल सूचक आईक्यू १९६ रहेको छ । उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । प्रदूषणकै कारण अहिले विभिन्न देशले नेपाल भ्रमण गर्दा होसियारी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको समाचार सार्वजनिक भएको छ ।

कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा सुधार आउन लागेका बेला वायु प्र्रदूषणका कारण नेपालमा पर्यटकको बसाइ लामो नहुने र नेपालको आर्थिक क्षेत्रमा समेत धक्का लाग्ने नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. धनञ्जय शर्माले बताउनुभयो । नेपालमा खास गरी अहिलेको समयमा देशभरका वनहरूमा डडेलोबाट निस्किएको धुवाँ नेपालभर फैलनु, उद्योग कलकाराखानाबाट निस्कने प्र्रदूषण, सवारीसाधनकोे प्र्रदूषण र नेपालसँग सीमा जोडिएको भारतीय राज्यहरूमा अहिले गहुँ काटेर छ्वाली डढाउने र त्यसबाट निस्किएको धुवाँ नेपाल प्रवेश गर्ने भएकाले पनि अहिले बढी प्र्रदूषण फैलिएको मौसमविद्हरूले जानकारी दिएका छन् ।

तर वातावरण विभागका प्रवक्ता तथा सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले काठमाडौं अहिले विश्वकै प्रदूषित शहर भनेर आएको समाचारमा सत्यता नरहेको बताउनुहुन्छ । काठमाडौं उपत्यकाको वायु प्र्रदूषणको मापन गर्ने स्टेसन भनेको रत्नपार्कमा रहेको छ । सो स्टेसनले दिएको रिपोर्टअनुसार काठमाडौं विश्वकै प्रदूषित शहरमा नपर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यसपटकको हिउँदमा जति वर्षा हुनुुपर्ने थियो त्यो भएन । अहिले मुलुकभरका जंगलमा लागेको आगोबाट निस्किएको धूवाँ नेपालभर फैलिएकाले प्र्रदूषण बढे पनि धेरै डराउनुपर्ने अवस्था भने छैन ।’ विभिन्न निकायलाई हवाला दिएर आएको समाचारमा सत्यता नभएको भन्दै आइतबार रत्नपार्क स्टेसनले भने १३० यूएस एक्यूआई मात्रै रहेको र यो अवस्था अझै केही दिन रहने प्रवक्ता पौडेलले बताउनुभयो ।

हावाको गति र कुनै क्षेत्रमा मानवीय र अन्य कारणले प्रदूषण बढ्दा एक्यूआईमा उतारचढाव आउने विभागका सिनियर केमिस्ट पौडेलले बताउनुभयो । नेपालमा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको र हावाहुरी चल्ने मौसम भएकाले पूर्वाधार निर्माणका क्रममा निस्कने धुलो उडेर हावामा पुग्ने गरेको कारण पनि प्र्रदूषणको एउटा स्रोतको रूपमा वातावरण विज्ञहरूले लिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हरेक वर्ष विश्वमा ७० लाख हाराहारीमा वायु प्रदूषणले मानिसको मुत्यु हुने गरेको जनाएको छ । वायु प्रदूषणका धेरै कारक तत्वमध्ये जलवायु परिवर्तनले पनि वायु गुणस्तर खस्काउने २ गरेको डब्लूएचओको प्रतिवेदनले औँल्याएको छ । वायु गुणस्तरबारे विश्वव्यापी अनुगमन गर्ने स्विस कम्पनी आक्यूएयरलगायत संघ÷संस्थाले काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको सूचीमा सूचीकृत गर्दै आएको छ ।

नेपालपछि थाइल्यान्डको चियाङमाई, बैंकक, बंगलादेशको ढाका भियतनामको हनोई, चीनको वुहान र सांघाई, भारतको दिल्ली सहर १० प्रदूषित शहरका रूपमा चित्रित गरिएको छ । यी शहरमा वायु प्रदूषणको मात्रा १२० यूएस एक्यूआईभन्दा माथि छ ।

वातावरण विभाग मातहत मुलुकका विभिन्न भागमा २७ वटा स्वचालित प्रदूषण मापन स्टेसन छन् । तर, अधिकांश स्टेसन चलेको देखिँदैन । २७ स्टेसनमध्ये ९ वटा मात्रै सञ्चालनमा रहेका छन् । नेपालगन्ज, दाङ, लुम्बिनी, पोखरा (पोखरा विश्वविद्यालय परिसर), सौराहा, सिमरा, दमक, धुलिखेल, भक्तपुर, जनकपुर, धनगढी, भीमदत्त (महेन्द्रनगर), विराटनगर, सुनसरीको झुम्का, ललितपुरको पुल्चोक, सुर्खेत, कीर्तिपुर र चितवनको भरतपुर स्टेसन लामो समयदेखि बन्द छन् ।