कोरोना सङ्क्रमणका कारण चितवनमा एक जनाको मृत्यु



काठमाडौँ ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको संख्या बढेसँगै २०७९ चैत्र २९ गते देखि वैशाख ३ गते सम्म तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ।

पछिल्लो पटक चितवन जिल्ला भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका भै उपचारकै क्रममा चितवन मेडिकल कलेजमा शनिवार मृत्यु भएको मेडिकल कलेज चितवनका सूचना अधिकारी पारस अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्ट अनुसार १ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण र एनटीजेन परीक्षण गर्दा ९९ जना नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको जनाएको छ । तर स्वास्थ्य मन्त्रालयको रिपोर्टमा कोभिडबाट मृत्यु हुनेको संख्या शून्य उल्लेख गरिएकोछ ।
हाल सम्म कोरोना सङ्क्रमणका कारण नेपालमा १ दशमल्भ २ प्रतिशत अर्थात् १२ हजार २३ जनाको मृत्यु भैसकेको र पिसिआर परीक्षण गर्ने ६० लाख २६ हजार ६ सय र एन्टीजेन परीक्षण गर्ने १५ लाख ५७ हजार ४ सय ९२ मध्ये पिसिआरबाट १० लाख २ हजार १ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित मध्ये ९८ दशमल्भ ७ प्रतिशत ९ लाख ८९ हजार ७ सय ७९ जना निको भएका छन् । कोरोना सङ्क्रमण बढेका कारण स्वास्थ्य मन्त्रालयले पछिल्लो समय मास्क लगाउन र नजिकैका स्वास्थ्य संस्थामा गई खोप लगाउन आम नागरिकलाई आवहान गर्दै ‘बोल्ने मुखलाई मास्कले छेक्दैन, चिउँडाको मास्कले कोरोना रोक्दैन’ कोरोनाले चिन्ने वा नचिन्ने भन्दैन । कार्यालयमा दैनिक काम गर्दा भेट्ने सहकर्मी वा साथीभाइ त होनि भन्दै हेलचेक्र्याइँ गर्दै हुनुहुन्छ ? बेला बेलामा आफूलाई र अरूलाई सोधौँ मास्क खै ? भन्ने जनचेतनामूलक नारा सार्वजनिक गरेको छ ।

हाल काठमाडौँमा मात्र संस्थागत आइसोलेसनमा ३७ जना, आईसीयुमा ११ जना र भेन्टिलेटरमा ४ जना रहेको र सक्रिय सङ्क्रमित ३ सय ७७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेको संख्यामा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्