सल्यानमा बजेटको माग गर्दै अनसन


सल्यान।

सल्यानमा बजेटको माग गर्दै एक जना अनसनमा बस्नु भएको छ । जिल्लाको बागचौर नगरपालिका २ अग्लाटाकुरा भ्यु टावरमा मन्दिरमा मूर्ति निर्माणमा  लागेको बजेटको माग गर्दै स्थानीय रुद्रमधु डिसी अनसनमा बस्नु भएको हो । शुक्रबार बेलुका ७ बजेदेखि बागचौरको सहिद हेट नजिकैको पिपल चौतारीमा डी.सी. पहेँलो पोशाकमा अनसन बस्नुभएको छ ।

गत वर्ष मन्दिरमा मूर्ति, ट्रस्ट घर, गेट, टिनका झलर, मूर्ति राख्ने ठाउँ, भित्री घेरबार, ४ वटा बोर्ड निर्माण गरेको, शारदा खोलाबाट बालुवा गिट्टी र पानी बोकेको र १८ जना श्रमिक लगाएकोमा कुल खर्च २२ लाख ३० हजार भएको र त्यसमध्य ८ लाख चन्दा उठाएर तिरेको र बाँकी रहेको १४ लाख ३० हजार ऋण भएको हुँदा त्यो रकम नगरपालिकाले तिर्नुपर्ने भन्दै अनसनमा बस्नु भएको हो ।

तत्कालीन सरकारले बजेट विनियोजित गर्ने आश्वासन दिएपछि सो काम उहाँले उधारोमा गरेको र अहिले ऋणमा रहेको उहाँको भनाई छ ।

बागचौर नगरपालिकाले केही बजेट विनियोजन गरे पनि तत्कालीन सरकारले गरेको कामको भुक्तानीका लागि अहिले बजेट अपुग भएपछि पुरा भुक्तानी हुन नसकेको बताइएको छ ।