पछिल्लो डेढ हप्तामा दार्चुलाका ७ जनामा कोरोना सङ्क्रमण



दार्चुला ।

 पछिल्लो समय दार्चुलामा भारतबाट फर्किरहेका नागरिकहरुमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । चैत २१ गते भारतको चेन्नइ सहरबाट घर फर्केका दार्चुलाको नौगाड गाउँपालिका–३ का २० वर्षीय पुरुषको खलंगा पुलघाटस्थित सीमानाकामा कोरोना जाँच गर्दा सङ्क्रमण पुष्टि भयो । त्यस्तै  चैत २४ गते मार्मा गाउँपालिका–५ का ३० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखियो । चैत ३० गते भारतबाट फर्केका नौगाड गाउँपालिका–४ का २० वर्षीय पुरुष र सोही गाउँपालिकाको वडा नम्बर १ का ४० वर्षीय पुरुषमा पनि कोरोना जाँच गर्दा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा गरिएको परीक्षणमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । चैत २९ गते जिल्ला अस्पताल दार्चुलामा महाकाली नगरपालिका–९ की २२ वर्षीया महिला र गोकुलेश्वर अस्पतालमा शैल्यशिखर नगरपालिका–५ की २० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
खलंगा पुलघाटमा गरिएको परीक्षणमा बैशाख १ गते (शुक्रवार) कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रवार कोरोना सङ्क्रमण पुष्टि हुनेमा जिल्लाको दुहुँ गाउँपालिका–५ का २६ वर्षीय एक पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै भारतबाट दार्चुलाको खलंगा पुलघाट नाका हुदै फर्केका बैतडीका २ जनामासमेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय भारतबाट फर्कनेहरुमा दिनँहु जसो सङ्क्रमण पुष्टि भइरहेको छ ।

सीमानाका पुलघाटमा दैनिक कोरोना परीक्षण गरिनुका साथै लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप पनि लगाइदैछ ।

प्रतिक्रिया दिनुहोस्