धमाधम राप्रपा त्याग्दै युवानेता

0
Shares

हेटौँडा ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई २८ वर्षपछि मकवानपुरका जित दिलाउन कम्मर कसेर लागेका अर्का युवा नेताले पनि पार्टी त्यागेका छन् ।
पार्टीका मकवानपुर जिल्ला सचिव विजयसिंह ठकुरीले पनि पार्टी परित्याग गर्नुभएको हो । ठकुरीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुर पूर्वअध्यक्ष, युवक संगठन जिल्ला सचिवसहित पार्टी जिल्ला कार्यसमितिका विभिन्न विभागमा रहेर काम गरिसक्नुभएका ठकुरीले पार्टी परित्यागको घोषणा गर्दा पार्टीलाई क्षति पुग्ने आँकलन गरिएको छ ।

पार्टी परित्यागको घोषणा गर्दै उहाँले भन्नुभएको छ–राप्रपा युवक संगठन जिल्ला सचिव, विद्यार्थी संगठन जिल्ला अध्यक्ष हुँदै  पार्टी प्रशिक्षण विभाग प्रमुख, रेडक्रस तथा स्वास्थ्य विभाग प्रमुख र जिल्ला सचिव हुँदै  गर्दा साथ र सहयोग गर्ने र नगर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै एक स्वतन्त्र देशभक्त नागरिक भएर बस्ने निर्णय गरेको छु ।

‘अब पार्टीका कुनै पदमा म छैन । र, साधारण सदस्यसमेत रहने छैन । चुनावको बेला गरेका वाचाप्रति सधैं बफादार रहने शुभचिन्तकसमक्ष प्रण गर्न चाहन्छु । के गुमाएं  के पाएँ , समयले बताउला,’ उहाँले भन्नुभएको छ ।  यो पार्टी चलाउने नेताहरुबाट नीतिविचार र सिद्धान्त स्थापित नहुने उहाँको दाबी छ–कुन पार्टीको हो, अझसम्म पनि नखुलेका काखीमा च्यापेर, सर्वश्व गुमाएर लाग्नेहरुको मूल्यांकन भएन । वौद्धिकता, क्षमता, योग्यता पार्टीले पचाउन सकेन ।

यसअघि राप्रपा मकवानपुर उपाध्यक्ष शंकरसिंह ठकुरीले पनि पार्टी परित्याग गर्नुभएको थियो । उहाँहरुकै मेहनतका कारण गत निर्वाचनमा मकवानपुर–१ मा विजयी हुन राप्रपाका दीपकबहादुर सिंहलाई केही सहज भएको थियो । सिंह केही समय ऊर्जा राज्यमन्त्रीसमेत बन्नुभएको थियो । तर, पछिल्लो समय राप्रपाका युवामा पार्टीप्रति असन्तुष्टि देखिएको छ ।