सस्तोमा जग्गा मिलाइदिने भन्दै ३२ लाख लुट्ने चारजना पक्राउ 

0
Shares

भद्रपुर। 

सस्तोमा जग्गा मिलाइदिने भनी ३२ लाख रकम लुटेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ३० गते बिहीबार दिउँसो १ बजे अर्जुनधारा ११ बिर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका बिष्णुमाया सापकोटा (सुवेदी) र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 प्रहरीले दिएको जानकारी अनुसार जग्गा सस्तो दरमा बिक्रीमा रहेको छ खरिद गर्न आउनु भनी कमल ५ का ५२ वर्षिय बिजय राईले उनीहरुलाई बोलाएका थिए । राई र जग्गा किन्न खोज्ने विष्णुमाया सुवेदी एकै गाउँका चिनजानका व्यक्ति हुन् । विष्णुमायाले जग्गा बैना गर्नका लागि छिमेकी अनिल विश्वकर्मालाई साथमा लिएर उर्लाबारीबाट बिर्तामोड आएकी थिइन् ।

राईले मोरङको बेलबारी नगरपालिका–६ घर भई झापाको मेचीनगर नगरपालिका–६ का ५५ वर्षिय रणबहादुर पोखरेलसँग मिलेर उनीहरूलाई लुट्ने योजना बनाएका थिए । दुईजनाले मात्र लुटपाट गर्न नसकिने ठानेर राईले काठमाडौंमा रहेका राजेश श्रेष्ठ र जनक रेग्मीलाई दुई दिन अगाडि नै झापा बोलाएका थिए ।

चारजना मिलेर पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरिदकर्तालाई नवज्योति होटलमा बोलाएर बैना कागज नै नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ लुटेर फरार भएका थिए । फरार भएकाहरूको खोजतलास गर्ने क्रममा दुईजना व्यक्तिहरू इलामबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद  रिजालले बताउँनुभयो ।

रामेछाप देउराली गाउँपालिका–२ घर भई हाल भक्तपुर बस्ने ३९ वर्षिय राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भई काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षिय जनक रेग्मी झापाबाट भागेर इलाम पुगेपछि पक्राउ परेको उहाँले जनाउँनुभयो । जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा इलाम नगरपालिका–७ पुरानो बसपार्कमा रहेको देउराली होटलमा लुकिछिपि बसेको अवस्थामा नगद १४ लाख ६५ हजारसहित श्रेष्ठ र रेग्मी शुक्रबार दिउँसो पक्राउ परेको रिजालले बताउँनुभयो ।

त्यस्तै, अर्जुनधारा नगरपालिका–११ मा रहेको थापा होटल एण्ड लजको कोठा नं. १०१ मा लुकेर बसेका राई र पोखरेललाई पनि प्रहरीले शुक्रबार नै पक्राउ गरी उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

लुटिएको ३२ लाख रकममध्ये उनीहरूको साथबाट २७ लाख ६५ हजार रकम बरामद भएको छ । बाँकी रहेको चार लाख ३५ हजार रकम उनीहरूले खर्च गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताउँनुभयो ।