सवारी दुर्घटनामा चार जनाको मृत्यु

0
Shares

पर्सा । 

 वीरगंज महानगरपालिका-३१ कटगेलवामा ग.१ त ४१६७ नम्बरको ट्याक्टरले ना.४६ प ४३०२ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-३२ नौका टोल बस्ने ५० वर्षीय हरदेव साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल बयोधा गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै सुनसरीको  कोसी गाउँपालिका-१ स्थित पेट्रोलपम्प अगाडि सडकमा प्र.३-०१-०२२ च ८४८८ नम्बरको कारले साईकललाई बिहीबार दिउँसो ठक्कर दिंदा साईकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी साइकलमा सवार १ जना महिलालाई जिल्ला अस्पताल ईनुरूवा हुँदै थप उपचारको लागि न्यूरो आर्या अस्पताल विराटनगर पठाइएको छ । कार चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

यसैगरी मकवानपुरको  भिमफेदी गाउँपालिका-७ कोगटेस्थित ईपा कोगटे भिमफेदी सडकखण्डमा ना.३ त १४९७ नम्बरको ट्याक्टरको ढालाबाट खसेर सोही ठाउँ बस्ने ६० वर्षीय भिम बहादुर सारु मगरको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सिरहाको  गोलबजार नगरपालिका-४ स्थित सडकमा बा.५ ख ३६४ नम्बरको हाईस गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको  छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।