वैदिक स्कुलमा बृहत् रक्तदान सम्पन्न

0
Shares

भक्तपुर । 

नयाँ वर्षको सन्दर्भमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अवस्थित वैदिक स्कुल, नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा र श्री बृहस्पति युवा क्लब बालकोटको संयुक्त आयोजनामा बिहीबार बृहत् रक्तदान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अभिभावक, विद्यार्थी तथा वडाबासीको बाक्लो सहभागिता रहेको विद्यालयका सञ्चालक आर.के. राउतले जानकारी दिनुभयो । उपत्यकामा रगतको अभाव बढ्दै गएको हुँदा विद्यालयको पहलमा रगत संकलन गर्न सकियो भने अभाव पूर्ति हुन सहज हुनेछ भन्ने अपेक्षासहित कार्यक्रम आयोजना गरिएको सञ्चालक राउतको भनाइ छ ।

रक्तदानसँगै नयाँ वर्षको शुभकामना आदान प्रदान तथा चियापान गरी आपसी सद्भाव र भाइचारा कायम गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । बिहीबार नै विद्यालयले वार्षिक शैक्षिक क्यालेन्स सम्पन्न गर्दै २०७९ सालको परीक्षाफलसमेत प्रकाशित गरेर नयाँ शैक्षिक सत्रका निम्ति भर्नासमेत खोलेको राउतले जानकारी दिनुभयो ।