ठिमीको बिस्का : जात्रा चिनाउने रत्न श्रेष्ठका फोटोहरुको प्रदर्शनी

0
Shares

काठमाडौं ।

ठिमीलाई बिस्काः जात्रा हेर्न हरेक वर्ष बैशाख १ गते मानिसहरु भक्तपुरमा ओइरिने गर्दछ ।यही भीडमा मध्यपुर ठिमीमा मनाइने बिस्काः जात्रा भने सधैं ओझेलमा पर्ने गरेको छ । वरिष्ठ फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठको वसन्तपुरमा भएको बिस्काः जात्रा सम्बन्धी फोटो प्रदर्शनी ठिमीको जात्रासंग जोड्ने पुल बनेको छ ।

मध्यपुर, ठिमीमा हरेक वर्ष चैत्र मसान्तदेखि बैशाख २ गतेसम्म तीन दिनसम्म बिस्काः जात्रा चल्ने गर्दछ ।यस अन्तर्गत हुने थुप्रै जात्राका तस्वीरहरु प्रदर्शनी मार्फत एकै पटक, एकै ठाउँबसेर सर्वसाधारणले हेर्न पाए । दुई दशक भन्दा बढी समयदेखि फोटो पत्रकारितामा संलग्न श्रेष्ठले एक दशकदेखि संग्रह गर्दै आएका बिस्काः जात्रा सम्बन्धी ९० वटा तस्वीरहरु प्रदर्शनीको लागि राखिएको छ।ठिमीमा जन्मिएर, ठिमीकै माटोसंग खेल्दै हुर्किएका पत्रकार श्रेष्ठ थिमीको बिस्काःजात्रा लाई चिनाउने हुटहुटीले प्रदर्शनीको आयोजना गर्दै आएका छन्।

ठिमीको बिस्काः जात्राको स्वरुप, विशेषता,रौनकता, धार्मिक, सांस्कृतिक प्रतिको आत्मियतालाई अरुले बुझ्नू, थाहा पाओस् भनेर प्रदर्शनी आयोजना गरेको श्रेष्ठले बताए। श्रेष्ठलाई यस कार्यका लागि मध्यपुर ठिमी नगरपालिका, मध्यपुर ठिमी पर्यटन विकास समितिले सघाएको छ।श्रेष्ठले फोटोपत्रकारिता मार्फत समग्र ठिमीलाई चिनाएको नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बताए ।

‘यसले ठिमीको बिस्काःदेखि सांस्कृतिक सम्पदा, अमूर्त संस्कृतिको प्रचारप्रसार गरी बाहय तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अवश्य सघाउने छ ।’ मेयर श्रेष्ठले प्रदर्शनीको उद्घाटन गर्दै भने। रत्नका तस्वीरहरु संस्कृति वैभवले सम्पन्न ठिमीलाई चियाउने आँखी झ्याल रहेका बताउँदै समितिका संयोजक रमेश प्रजापतिले भन्नुभयो ‘ तस्वीरका माध्यमबाट ठिमीको संस्कृतिको ज्ञान, रोमाञ्चकतालाई परिकल्पना गरेर स्वाद लिन सकिने छ ।’

विहीबार साँझदेखि शुरु हुने ठिमीको गुँसि व्छयेकय्गु (वनको काँठ बाल्ने)जात्रा, रातीको जात्रा, वैष्णवी र सिद्धिकाली अन्तर्गतका खट जात्रा,सिन्दुर जात्रा लगायत ठिमीको सांस्कृतिक जनजीवनलाई तस्वीरमा राम्ररी प्रतिविम्बित गरिएको छ।विश्व सम्पदा सूचीकृत वसन्तपुरमा घुम्न आउने स्वेदशी र तथा विदेशी पर्यटकहरुले प्रदर्शनीमा राखिएका रमाउँदै अवलोकन गरेका थिए।गत वर्ष पर्यटन बोर्डमा आयोजना गरेको सो प्रदर्शनी अर्को वर्ष पाटनमा प्रदर्शनी गर्न लक्ष्य राखिएको छ ।