अपराधमा आएको कमी, चुनौती थपिँदै



दीपक रिजाल

 -क्राइम एक्सन प्लानअन्तर्गत दक्ष जनशक्ति बढाउने योजना अघि बढेको तर, अपराध अनुसन्धानमा अझै जनशक्ति पु¥याउन नसक्दा समस्या उत्पन्न भएको छ ।

-नेपालमा आर्थिक तथा सामाजिक क्षेत्रमा हुने गरेको अपराधको अवस्था हेर्दा डरलाग्दो रहेको छ यो मुलुकको लागि खतराको घन्टी हो । यस विषयमा राज्य चनाखो भएन भने मुलुकमा हुने अपराधमा बढोत्तरी आउने निश्चित छ ।

विभिन्न कारणले अस्थिर बन्न पुगेको नेपाल २०७९ मा अपराधका घटना ह्वातै बढेका छन् । अघिल्लो वर्षको तुलनामा २०७९ सालमा अपराधका घटना १६ दशमलव ९० प्रतिशतले बढेको छ । यो वर्ष मुलुकभर अपराधका घटना ४७ हजार पुगेको प्रहरीको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्ष मुलुकभर ४० हजारको हाराहारीमा आपराधिक घटना घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

नेपालमा कारोना र डेंगीको महामारीसँगै संगठित अपराधका घटनाहरू पनि बढेका छन् । यो वर्ष पनि कन्चनपुरकी निर्मला पन्तको हत्याको बारेमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले टोली नै गठन गरेर अनुसन्धान गरे पनि त्यो टोलीले समेत कुनै निष्कर्ष निकाल्न सकेन । मुलुकमा भएको संघीय निर्वाचनपछि उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृह मन्त्रीमा नियुक्त भएपछि पन्तको हत्याका विषयमा छानबिन गर्न प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन गरे पनि समितिले भने अहिलेसम्म कुनै निष्कर्ष निकाल्न सकेन ।

यो वर्ष अर्थात २०७९ सालमा मुलुकमा ३ जनाले गृहमन्त्रालयको नेतृत्व गरे पनि कुनै पनि मन्त्रीले सोचेजस्तो काम गर्न सकेनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा मन्त्रीहरूले हस्तक्षेप गर्ने आफ्ना अनुकूलका मानिसलाई सरुवा बढुवा गराउने, विवादास्पद व्यक्तिलाई आकर्षक ठाउँमा सरुवा गर्ने कामले निरन्तरता पायो ।

यो वर्ष नेपाल प्रहरीले पनि नयाँ प्रहरी महानिरीक्षक पाएको छ । सधैं आईजीपी नियुक्तिमा विावद हुने गरेको थियो । यस वर्ष नयाँ आईजीपी नियुक्तिमा कुनै विवाद भएन । नयाँ आईजीपीका लागि आउँदा दिनहरू भने चुनौतीपूर्ण रहेको छ । मुलुकमा अपराधको घटनामा बढोत्तरी भए पनि नेपाल प्रहरीले दक्ष जनशक्ति समयमा नै उत्पादन गर्न नसक्दा अपराध नियन्त्रणका घटनामा कमी आउन सकेको देखिँदैन ।

अपराध बढेअनुसार जनशक्ति बढाउन नसक्दा अपराध नियन्त्रणमा भने समस्या आएको प्रहरी प्रवक्ता डीआइजी पोखरेल बताउनुहुन्छ ।
क्राइम एक्सन प्लानअन्तर्गत दक्ष जनशक्ति बढाउने योजना अघि बढेको तर, अपराध अनुसन्धानमा अझै जनशक्ति पु¥याउन नसक्दा समस्या उत्पन्न भएको छ डीआईजी पोखरेल बताउनुहुन्छ । अपराध अनुसन्धानमा खटिने प्रहरी कर्मचारीलाई प्रोत्साहन भत्ता दिलाउनुपर्छ भनेर हामी लागेका छौँ ।’ अपराध अनुसन्धानमा संलग्न कतिपय प्रहरीलाई संगठनभित्रैबाट झुठा मुद्दामा फसाउने जस्ता प्रवृत्तिले पनि अपराध अनुसन्धानतर्फ काम गर्न प्रहरी इच्छुक नदेखिएकाले समस्या बेला बेलामा आउने गरेको छ ।

सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण नेपालमा विभिन्न खाले अपराध बढ्दै गएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्ने क्रम यो वर्ष पनि तीव्र रूपमा भएका छन् । सामाजिक सञ्जालको दुरुपयोगका कारण सामाजिक परिवेशका कारण आत्महत्या गर्नेको संख्या पनि तीव्र भएको छ । यसको रोकथामका लागि राज्य स्तरबाट जुन स्तरको जनचेनता गाउँ स्तरमा पु¥याइनुपर्ने थियो त्यो हुन नसक्दा यस्ता अपराधमा संलग्नहरूको मनोबल बढेको निष्कर्ष प्रहरी प्रधान कार्यालयले निकालेको छ ।

नेपालमा बढ्दो बेरोजगारीका कारण आक्रान्त जनता रोजगारीका लागि राम्रा र आकर्षक मुलुक जानका लागि दलालमार्फत् पैसा दिने र काम नभएपछि प्रहरीमा उजुरी दिनेको संख्या यो वर्ष पनि उल्लेख्य रहेको प्रहरीको आँकडाले देखाएको छ । यस वर्ष पनि विभिन्न मेनपावर कम्पनी र दलालमार्फत ठगिएको उजुरी दिनेको संख्या अघिल्लो वर्षभन्दा १० दलशलव ८५ प्रतिशतले बढिरहेको प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसरी उजुरी गर्नेहरूले दिएको उजुरीका आधारमा हेर्ने हो भने झण्डै एक अर्बको हाराहारीमा ठगी भएको देखिन्छ । यस वर्षको अन्त्यतिर आएर प्रहरीले नेपालमा शरणार्थी जीवन बिताइरहेको भुटानी नागरिकको नक्कली निस्सा बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने एउटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजनीतिक दलका नेता तथा सरकारी अधिकारीको समेत संलग्नता रहेको आशंकामा प्रहरीले सो गिरोहको खोजी गरिरहेको छ ।

अहिलेसम्म ८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले यो गिरोहमा ठुलो समूह संलग्न रहेको र उनीहरूको खोजी भइरहेको जानकारी दिनुभएको छ । अहिलेसम्म सो गिरोहले कति मान्छेलाई भुटानी शरणार्थीलाई अमेरिका पठाए भनेर खोजी भइरहेको एसएसपी केसीले जानकारी दिनुभएको छ ।

नेपालमा आर्थिक तथा सामाजिक क्षेत्रमा हुने गरेको अपराधको अवस्था हेर्दा डरलाग्दो रहेको नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल बताउनुहुन्छ । यो मुलुकका लागि खतराको घन्टी हो । यस विषयमा राज्य चनाखो भएन भने मुलुकमा हुने अपराधमा बढोत्तरी आउने निश्चित छ मल्ल भन्नुहुन्छ ।

नेपालमा लागु औषधका घटनाहरू अत्यधिक बढ्न थालेका छन् भने यसको नियन्त्रणका लागि राज्यबाट कुनै पहल भएको देखिँदैन । नेपाललाई ट्रान्जिट बनाएर लागु औषधको कारोबार गर्ने गिरोह यो वर्ष पनि सक्रिय भएको पाइएको छ । सो गिरोहले अफ्रिका, दक्षिण अमेरिका, भारत र थाइल्यान्डका नागरिकलाई प्रयोग गरेर लागु औषधको कारोबार गर्ने गरेको लागु औषध नियन्त्रण व्युरोले जनाएको छ । नेपालमा लागु औषध कोकिन, सेतो र खैरो हेरोइन, चरेसको कारोबारमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पाइएको छ ।

नेपालमा अवैध रूपमा उत्पादन भएका चरेस र गाँजा तेस्रो मुलुक जाने क्रम रोकिएको छैन । नेपाल– भारत खुल्ला सीमानाको फाइदा उठाएर भारतीय र नेपाली लागु औषधका तस्करहरू सक्रिय रहेको पक्राउ परेका विवरणले देखाएको छ । व्युरोले यस वर्ष हेरोइन ७५ केजी अफिम ५२ केजी, कोकिन १३ केजी, बुप्र्रोनुर्फिन ६५ हजार ५ सय ७४ वटा, डाइजोपाम ६९ हजार ५ सय ८०, नेट्रोभेट १ लाख ४१ हजार ३ सय १३वटा कोरेक्स १० हजार ७ सय ७५ वटा, गाँजा १६ हजार २ सय ७ केजी, चरेस ४सय ४८ केजी, बरामद गरेको छ ।

सो कारोवारमा संलग्न रहेका ५ हजार २ सय २९ नेपाली नागरिक र २सय १० जना विदेशी नागरिक पक्राउ परेका छन् । अपराधमा संलग्न रहेकाहरूलाई राजनीतिक दलहरूले संरक्षण गर्ने कामले यस वर्ष पनि निरन्तरता पाएको छ । राजनीतिक संरक्षणमा हुने अपराध मौलाउँदो अवस्थामा अवस्थामा रहेको छ ।

ठूला अपराधमा संलग्न रहेकाहरूलाई सुरक्षा निकायले कारबाहीको दायरामा ल्याउन सकेको देखिँदैन । गएको असोज ३ गते सर्लाही हरिऔनका लाल मोहम्दलाई फिल्मी शैलीमा हत्या गरियो । यो हत्याकाण्डले नेपालको राजनीतिमा हलचल पैदा ग¥यो । हत्या किन र कसरी भयो भन्ने विषयमा खोजविन हुँदा भारतीय अपराधीको संलग्नता रहेको भन्दै प्रहरीले खोजी शुरू गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी पोषराज पोखरेलले लाल मोहम्दको हत्यासँग भारतीय नक्कली नोटको कारोबार जोडिएको बताउनुभयो । भारतीय खुफिया एजेन्सी रअको संलग्नतामा भारतीय पेसेवर अपराधीले उनको हत्या गरेको आशंका गरिएको छ । प्रहरीले उक्त घटनामा नेपाली र भारतीय नागरिकको संलग्नता रहेको भन्दै अपराधीहरूको नामसमेत सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्