कोरोना नियन्त्रणमा सक्रियताको खाँचो



चार वर्षअघि विश्वमै मानवजातिको अस्तित्व जोगाउनै मुस्किल पर्ने गरी फैलिएको कोरोना भाइरस नेपालमा शून्यमा झर्दा आम नेपालीमा केही राहत मिलेको थियो । एक महिनादेखि फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमणका कारण झन्डै तीन महिनापछि ७८ वर्षीय एक पुरुषको काठमाडौंको एक सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढिरहेको र मृत्युसमेत हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा अपनाउनुका साथै खोप लगाएर सुरक्षित हुन अपिल गरेको छ ।

गत मंगलबार सार्वजनिक गरेको २४ घन्टाको रिपोर्टअनुसार २ हजार ४ सय ३६ जनामा गरिएको परीक्षणमा १ सय ६ जना नयाँ संक्रमित पुष्टि भएसँगै एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भयो । यो निकै गम्भीर र सोचनीय विषय भएकाले सरकारले आवश्यक सुरक्षा नीतिहरु अपनाउनुका साथै सर्वसाधारणले पनि समयमै स्वास्थ्य सुरक्षा अपनाउनेतर्फ लाग्नु नै बुद्धिमानी हुनेछ । यति बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भागवण्डामा राजनीतिक दलहरुबीच कुरा नमिल्दा यो मन्त्रालय मन्त्रीविहीन भएको अवस्था छ । यहाँ मान्छे मर्नुभन्दा पनि काल पल्किनुलाई निर्मूल पार्नेतर्फ सबैको ध्यान पुग्नु जरुरी छ ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट १.१६ पत्ता लागेसँगै भारतमा पनि यही भाइरस फैलिएको र खुल्ला सिमानामा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश दिइएको स्वास्थ्य मन्त्रालयले सूचित गरे पनि कोरोना भाइरस रोकेर रोक्न नसकिने रुपमा विगतमा पनि फैलियो, अहिले पनि सोही रुपमा फैलिँदै छ । यतातर्फ सरकारको खासै ध्यान पुगेको पाइन्न । यति बेला राजनीतिक दलका नेताहरुलाई सत्ता र कुर्सीमोहले छोपेको छ । सर्वसाधारणलाई रोग, शोक, भोक र ऋणले छोपेको छ । सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफैँमा राखे पनि स्वास्थ्य सुरक्षाका लागि अपनाउनुपर्ने नीतिहरु अघि बढाउन सक्ने अवस्था छैन । यस अवस्थामा कोरोना संक्रमण विगतमा जस्तै फैलिँदै गएको अवस्थामा नियन्त्रणका लागि राज्यले चाल्नुपर्ने कदम कसरी पूरा हुन्छ ?

मंगलबार ४८ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएसँगै हालसम्म ४ सय ६९ जना नयाँ कोरोना संक्रमित प्रमाणित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिएसँगै कोरोना खोप ज्येष्ठ नागरिक, दीर्घरोगी, स्वास्थ्यकर्मीलगायतलाई अनिवार्य लगाउन अनुरोध गरेको छ । कोरोना संक्रमण वृद्धिदर केही साता अझै बढ्ने स्वास्थ्य मन्त्रालय स्वयंले बताउँदै आएको छ । पछिल्लो समय देखा परेको कोरोना संक्रमण छिटो फैलने खालको भएकाले रुघा–खोकी लागेको हो भनेर नबसौँ, परीक्षण गरेर रोगको पहिचानसहित सुरक्षा सतर्कता अपनाउनुको विकल्प छैन । संक्रमितको मृत्यु हुन थालिसक्यो, अस्पतालका आईसीयु, भेन्टिलेटर भरिँदै छन् । कोरोना संक्रमित र ज्वरो, रुघा, खोकीका बिरामी छुट्याउन परीक्षणमा जोड दिई उपचारका लागि स्वास्थ्य संस्था तोक्नुपर्ने अवस्था छ । सरकारले उपचारका लागि अस्पताल छुट्याउने र परीक्षणलाई सहज बनाउने काममा तीव्रता दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्