आलु महोत्सवमा कृषक र विज्ञबीच अन्तरक्रिया

0
Shares

कास्की । 

हेमजामा जारी ११ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत सोमवार कृषक र विज्ञबीच अन्तरक्रिया भएको छ ।
​पोखरा महानगरपालिका कृषि महाशाखाको सहजीकरणमा भएको उक्त कार्यक्रमका बीच किसानहरुले कृषि पेसा गर्दा आइपर्ने अप्ठ्यारो, कृषि उत्पादन तथा बजारीकरण सम्बन्धमा देखिएका विभिन्न समस्या एवम् चुनौतीबारे जिज्ञासा राख्नुभयो।

​त्यस अवसरमा किसानहरुको जिज्ञासाको जवाफ वरिष्ठ वाली संरक्षण अधिकृत शालिकराम अधिकारी, आलु विज्ञ श्यामप्रसाद ढकाल, कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना, हेमजाका अग्रज कृषक चित्रनाथ पौडेल लगायतले दिनुभयो ।
​कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले एमएस् ४२ जातको निलो आलु हेमजाको पहिचान भएको उल्लेख गर्दै पछिल्लो भुउपयोग नियमावली अनुसार हेमजामा कृषि भूमि घट्नु दुखद् भएको औँल्याउनुभयो ।

​आलु विज्ञ श्यामप्रसाद ढकालले आफ्नो पहलमा एमएस् ४२ जातको आलुलाई राज्यले सूचीकरण गरेको दाबी गर्दै सूचीकरणसँगै निरोगी मूल बीउ उत्पादन गर्न सहज भएको स्पष्ट पार्नुभयो ।

​कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना हेमजामा आलु खेती गर्ने जमिन घटेको भएपनि उत्पादकत्व भने वृद्धि हुँदै गएको जनाउनुभयो ।

 ‘सुन्दर ठाउँ हेमजा जाँऔं, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो ।
महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।