आधुनिक हतियारसहित ३ जना पक्राउ

एउटा अटोमेटिक पेस्तोल र १३ वटा भरुवा बन्दुक बरामद

0
Shares

काठमाडाैं ।

देशका विभिन्न स्थानबाट आधुनिक हतियारसहित तीन जना पक्राउ परेका छन् भने एकथान अटाेमेटिक पेस्ताेल र १३ थान भरुवा बन्दुक बरामद गरिएकाे छ ।

मकवानपुरकाे  हेटौँडा उपमहानगरपालिका-३ बसामाडी सरस्वरी पेट्रोल पम्प नजिकबाट म्याग्जिन सहितको अटोमेटिक पेस्तोल एक थानसहित सोही उपमहानगरपालिका-१२ पदमपोखरी भोर्ले बस्ने ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पैदल हिँडिरहेको अवस्थामा उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतकाे  भेरीगंगा नगरपालिका-६ घारीवन बस्ने ७३ वर्षीय शसी डाँगीलाई भरुवा बन्दुक एक थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले डाँगीको गोठमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङकाे गढवा गाउँपालिका-८ डाडाँगाउँ बस्ने ३२ वर्षीय मान सिंह सुनारलाई भरुवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोईलाबास, ईलाका प्रहरी कार्यालय गढवा र बिओपी सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले सुनारलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

रामेछापकाे मन्थली नगरपालिका-१४ स्थित च्यानडाँडा जंगलबाट भरुवा बन्दुक एक थान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी फुलासीबाट खटिएको गस्ती टोलीले देख्नासाथ २ जना अपरिचित व्यक्तिहरुले उक्त बन्दुक फाली फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

रूकुमकाे (पूर्व)काे भूमे गाउँपालिका-५ भेडाखर्क जंगलमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १० थान र बन्दुकको नाल १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम (पूर्व)बाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।