मन्त्री बनाउन दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग

0
Shares

काठमाडौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो ? यसबारे छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’

साथै उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताए । यस कार्यमा जो सुकै भए पनि कारबाही गर्नुपर्ने उनको माग छ ।