ओरियन्समा आबद्ध गराउन युवायुवतीलाई पेन्सनसमेतको आश्वासन

0
Shares

भद्रपुर।

ग्लोबल ओरियन्स कम्पनीका प्रतिनिधिले कम्पनीमा आबद्ध गराउनका लागि युवायुवतीलाई पेन्सनसमेत उपलब्ध गराउने आश्वासन दिने गरेको पाइएको छ ।

इलामकी रश्मिन राईले ओरियन्सका कर्मचारीलाई पेन्सन उपलब्ध गराउने भन्दै कम्पनीका प्रतिनिधिले आबद्ध गराएको जानकारी दिनुभयो ।

उहाँजस्तै हजारौंलाई ओरियन्सले विभिन्न प्रलोभन देखाउँदै ठगी गरेको छ । कोरियन भाषा अध्ययन गर्दै गरेका, नेपाल आर्मीमा जानका लागि तालिम गर्दै गरेका, प्रहरीमा भर्ती हुने तयारी गरेकादेखि वैदेशिक रोजगारमा जान ठिक्क परेका युवायुवतीसमेतलाई ओरियन्सले ठगी गरेको हो ।

खासगरी पहाडी तथा विकट जिल्लाका युवायुवतीलाई ओरियन्सले लक्षित गरेको पाइएको छ । ओरियन्सले सिङ्गल स्टारलाई १३ हजार, डब्बल स्टारलाई ४० हजार र ट्रिप्पल स्टारलाई १ लाख २० हजार शुल्क लिने गरेको छ । उनीहरूले विभिन्न रोगको लागि औषधिको काम गर्ने भन्दै ‘फुड सप्लिमेन्ट’ उपलब्ध गराउने र त्यो बिक्री गरे बापत कमिसन प्राप्त हुने आश्वासन दिएका हुन्छन् । सप्लिमेन्ट बिक्री मात्र होइन, आफू मातहतमा अनिवार्य तीनजना सदस्य थप गर्नुपर्ने नियम ओरियन्सको छ । सदस्य थप गरेबापत थपिएका सदस्यले तिर्ने रकमबाट पोइन्ट भ्यालु बढ्ने र त्यहीअनुसार कमाइ हुने आश्वासन ओरियन्सका कर्मचारीले दिने गरेका छन् ।

नयाँ सदस्यले १३ हजार रुपैयाँ तिरेको अवस्थामा उसलाई जोड्ने माथिल्लो सदस्यको पोइन्ट भ्यालु हुँदैन । नयाँ सदस्यले ४० हजारको सदस्यता दिए ३ सय पोइन्ट भ्यालु र १ लाख २० हजारको सदस्यता लिए १ हजार पोइन्ट भ्यालु प्राप्त हुने ओरियन्समै आबद्ध सदस्य अभिषेक राजवंशीले जानकारी दिनुभयो ।

३ सय पोइन्ट भ्यालुको ९ सय ६० रुपैयाँ र १ हजार पोइन्ट भ्यालुको २ हजार १ सय ६० रुपैयाँ प्राप्त हुने नियम बनाइएको उहाँले बताउँनुभयो । राजवंशीका अनुसार पोइन्ट भ्यालुमा उल्लेखित रकम तत्काल पाउन सकिँदैन । ओरियन्सको एपमा रकम जम्मा भएको देखिए पनि सञ्चालकको अनुमति नलिई रकम निकाल्न नसकिने उहाँले बताउनुभयो ।

ग्लोबल ओरियन्सको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको कार्यालयमा आबद्ध भई ७ महिना काम गरेका झापा बाह्रदशीका राजवंशी थरका युवाले कम्पनीले दिने सबै आश्वासन झुटो भएकाले युवाहरू फसिरहेको बताउँनुभयो । उहाँले ओरियन्समा आबद्ध हुनलाई सुरुमा ४० हजार बुझाएको जानकारी दिनुभयो ।

तालिम र होस्टेल बस्न थप रकम तिर्दै उहाँले सात महिनाको अवधिमा ११ हजार पाएको सुनाउनुभयो । उहाँले सात महिनामा ७ जना साथीलाई सदस्य बनाउँनुभएको थियो । सात जना साथीहरूले ओरियन्सको कार्यालयमा ६ लाख ४० हजार बुझाएको उहाँले जानकारी दिनुभयो । ६ लाख ४० हजार तिरेर साथीहरू जोड्दा उहाँले ११ बजार कमाए पनि त्यहाँ बस्दाको आधा खर्च पनि नपुगेपछि त्यहाँबाट निस्किएको जनाउँनुभयो ।

कार्यालयभित्र मनिता नेपालीले हदैसम्मको मानसिक तनाव दिने, पैसा तिर्नलाई र साथीहरू जोड्न ठूलो दबाव दिने गरेको पीडितको भनाइ छ । मेचीनगरका एक युवालाई नेपालीले कुटपिटसमेत गरेको पीडितले जानकारी दिनुभयो ।

नेपालीलगायत ओरियन्सका कर्मचारीले दर्ता हुन लिएको पैसाको कुनै पनि रसिद नदिएको पीडितहरूको गुनासो छ । तत्काल प्रशासनले ओरियन्सका नाममा भइरहेको बेथिति रोक्नुपर्ने माग राखेका छन् । पीडितहरूका अनुसार तत्कालै प्रशासनले ध्यान नदिए कयौं युवाहरू त्यसमा फस्नेछन् । पीडितका अनुसार ओरियन्समा आबद्ध हुँदा एक जनाले ३ जनालाई अनिवार्य सदस्य बनाउन दबाव दिने गरिएको छ । तीन जनाले फेरि ३–३ थप गर्दै जानुपर्ने नियम रहेको पीडित युवाले जानकारी दिए । ४० हजारवाला सदस्य बनाउन सक्दा बनाउनेले ३ सय (पिभी) पोइन्ट भ्यालु अर्थात् ९ सय ६० रुपैयाँ कमाउनेछन् भने १ लाख ३० हजारवाला सदस्य बनाउँदा १ हजार (पिभी) पोइन्ट भ्यालु अर्थात् २१ सय ६० रुपैयाँ कमाइ हुने बुझिएको छ ।

ओरियन्स कम्पनीका प्रतिनिधिले रकम ठगी गरेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि झापा प्रहरीले त्यसका तीनजना कर्मचारीलाई बोलाएर सोधपुछ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले ओरियन्सका वितरक युवराज अधिकारी, विमल राउत र कर्मचारी पुष्कर पौडेललाई बोलाएर सोधपुछ गरेको हो । प्रहरीसँग ओरियन्सका कर्मचारीले फुड सप्लिमेन्ट मात्र बिक्री गर्ने गरेको बताएका छन् । अधिकारी र राउतले वितरक पदमा कार्यरत भएको भने पनि पौडेलले भने मासिक ११ हजार तलबमा अफिसको काम गर्न बसेको बयान दिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीको निर्देशनमा अनारमनी प्रहरीले ओरियन्सको गतिविधिमाथि निगरानी गर्न सुरु गरेको हो ।

झापा प्रहरीले ओरियन्सको गतिविधि निगरानी गरिरहेको जनाएको छ । झापाका एसपी दुर्गाराज रेग्मीले बिर्तामोडका प्रहरी प्रमुख सुरज कार्कीलाई ओरियन्सको काममा निगरानी गर्न निर्देशन दिएको बताउँनुभयो । ठगीमा परेको उजुरी परेपछि मात्र सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताउँनुभयो ।

अहिलेसम्म उजुरी परेको छैन, परेपछि हामी एक्सनमा जान्छौँ’ रेग्मीले भन्नुभयो । ओरियन्सका जति कार्यालय छन्, त्यहाँ कार्यरत कर्मचारीको विवरण सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो ।