कोरोना संक्रमणप्रति सचेतना



चार वर्षदेखि विश्वव्यापीरुपमा फैलिएको कोराना भाइरस संक्रमण दर नेपालमा शून्यमा झरेको केही महिना बित्न नपाउँदै पुनः नयाँ भेरिएन्टसहितको यसको संक्रमण दर ह्वात्तै बढेको छ । हाल नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ । यही भेरिएन्ट छिमेकी मुलुक भारतमा पनि बढेको छ । यति बेला सबैले सचेतना अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । रुघा, खोकी, ज्वरोको समस्या देखा परेमा कोरोना हो वा होइन भन्ने प्रमाणित नभएसम्म विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउनसमेत मन्त्रालयको आग्रह छ । यो आग्रहलाई आमनागरिकले आफ्नो पूर्ण दायित्व सम्झी पालना गरे कोरोनाबाट जोगिन र जोगाउन सकिन्छ ।

यतिखेर कोभिड–१९ महामारी फेरि नयाँ स्वरुपमा बढ्दै गएको अवस्था कसैले नभुलौँ, खोप लगाउन बाँकी व्यक्तिले खोप लगाउनेतर्फ पनि जागरुक बनौँ । आमनागरिकले सचेत भई स्वास्थ्य सुरक्षा अपनाउनु नै कोरोना नियन्त्रणको मुख्य मन्त्र हो । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिनासाथै आइसोलेसनमा बस्नु पनि सुरक्षा उपायमध्ये एउटा राम्रो उपाय हो । स्वास्थ्य मापदण्ड अनुसार कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ । बेला–बेलामा साबुन–पानी वा स्यानिटाइजरले हात धुनुपर्छ । खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने र भौतिक दूरी कायम गर्ने गर्नुपर्छ । भीडमाडमा जानै पर्ने भयो भने स्वास्थ्य सुरक्षा अपनाउन पनि नभुलौँ ।

स्वास्थ्य मन्त्रालयको सुरक्षासम्बन्धी आग्रह आमनागरिकको जनस्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । यस्ता नियमको पालना गर्नु सबैको दायित्व हो । आफूलाई स्वास्थ्य समस्या देखियो भने विनाहिचकिचाहट परीक्षण गर्न मन्त्रालयको आग्रह स्वागतयोग्य छ । अस्ति पानीमा भिजेको, हिजो चिसो खाएको र आज धूलोमा गएको भनेर बहाना नगर्न भनी सचेत गराउँदै मन्त्रालयले सूचनासमेत जारी गरेको छ । सूचनामा भनिएको छ, ‘कोभिड–१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’

कोरोना भाइरस विश्वकै लागि नयाँ र घातक देखिएको छ । यसले प्रत्येक वर्ष स्वरुप परिवर्तन गरिरहेको अवस्था छ । कोरोना भाइरसको विषयमा विश्वका वैज्ञानिकहरुले अध्ययन–अनुसन्धान गरिरहेका छन् । यही क्रममा आकस्मिक सुरक्षाका लागि कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी रुपमा प्रयोगमा आएको छ । खोपकै कारण कोरोना संक्रमण जटिलतामा पुग्नबाट रोकिएको छ । हाललाई यही खोप लगाएर शरीरमा भाइरससँग प्रतिरोध गर्ने क्षमताको विकास गरी कोरोनाबाट जोगिनु बुद्धिमानी हुनेछ । यो खोप कति मात्रा लगाउने र कति समय काम गर्छ भन्ने अनुसन्धानकै विषय भएकाले खोप उत्पादन गर्ने अमेरिका, युरोपलगायतका मुलुकले प्रत्येक ६ महिनामा खोप लगाउँदै आएका छन् । नेपालमा पनि भित्रिएको खोप खेर नफालौँ, समयमै सदुपयोग गरौंँ र स्वास्थ्य सुरक्षा अपनाऔँ ।

प्रतिक्रिया दिनुहोस्